NP EN

कक्षा कोठाको पढाइले मात्र दक्ष जनशक्ति उत्पादन हुदैन : प्रम ओली

 काठमाडौं,२० असोज,प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताउनुभएको छ ।
 
पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले देशको आवश्यकता अब विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पुरा नगर्ने भएकाल्े प्रयोगात्मक र व्यवहारिक शिक्षा दिनु पर्ने बताउनुभएको छ । “अब कक्षा कोठाको पढाइले मात्र पुग्दैन । विद्यार्थीलाई घर गाउँमा,खेतमा नै लगेर शिक्षा दिनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले शिक्षालाई आजको विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनु पर्ने बताउनुभएको छ । “शिक्षा र प्रविधिलाई सम्बन्धित गराएर अघि बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसले गर्दा थोरै जनशिक्तबाट धेरै काम लिन सकिन्छ ।” यस बर्ष देखि सुरु गरिएको निरक्षरता विरुद्धको महाअभियानले आगामी बर्ष सबै बालबालिकालाई विद्यालयमा ल्याइने प्रधानमन्त्रीको दाबी छ । “आगामी बर्ष देखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुने छैनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरु अब विशिष्टकृत हुने पर्ने बताउनुभएको छ । विश्वविद्यालयहरुमा आपसी समन्वय नहुँदा कतिपय ठाँउमा आवश्यकता भन्दा बढी कलेजहरुले सम्बन्धन पाएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले देशको आवश्यकता अनुसार शिक्षण संस्थाहरु खोल्नु पर्ने बताउनुभयो । “शिक्षालाई देशको आवश्यकता अनुसार अघि बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

साधारणसभाले आव २०७५/२०७६का लागि प्रस्तावित आयव्यय विवरण,आव २०७१/२०७२ र आव २०७२/२०७३ को लेखा परीक्षण प्रतिवेदन पास गरेको छ । यसैगरी आव २०७३/२०७४ र  २०७४/२०७५ को लेखा परीक्षक नियुक्त गर्न विश्वविद्यालयलाई अधिकार दिएको छ । साधारणसभामा प्रष्तुत गरिएको अन्य प्रस्तावहरु अर्को बैठकमा छलफल गर्ने गरी आजको साधारणसभा स्थगित गरिएको छ ।

सम्बन्धित