NP EN

सरकारको उद्धेश्य सुशासन र विकास : प्रम ओली

काठमाडौं २ असोज, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको उद्धेश्य सुशासन र विकास भएको बताउनुभएको छ ।

त्रिभूवन विश्वविद्यालय सभाको साधारण बैठकलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो शिक्षण विधिलाई आधुनिक र प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । “हामीले संघीय र गणतन्त्रात्मक प्रणाली स्थापना गरिसकेका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब हामीले हाम्रो शैक्षिक प्रणालीले सुधार गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले अबको पुस्ताले पनि देश निर्माण नगरेर छुट पाउने अवस्था नरहेकोे बताउनुभयो । “जनताका लागि सबै व्यवस्था र प्रणाली स्थापना गरेका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण देश बनाउन केहीले रोक्दैन । हामीले अब कसैलाई दोष देखाएर उम्कने ठाउँ छैन ।”

प्रधानमन्त्री ओलीले विद्वान पूर्खाका सन्तानलाई विद्वान नै बनाउन खोजेको बताउनुभएको छ । “अब पुनरजागरण र भिजनका कुरा गर्न पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “देशलाई आवश्यक पर्ने उच्चकोटीको जनशक्ति उत्पादन गर्ने काम अब विश्वविद्यालयले गर्नुपर्दछ ।” 

शिक्षाले ज्ञान मात्र हैन आचरण पनि निर्माण गर्नु पर्ने प्रधानमन्त्री ओलीको जोड छ । “हाम्रा परम्परागत मूल्य मान्यतामा भयानक धावा बोलिएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसरी खस्कदो नैतिक मूल्य र मान्यतालाई पुनजागृत गराउने काममा समेत विश्व विद्यालय शिक्षाको पाठ्यक्रमले ध्यान दिनु पर्दछ । ”

सभाले आर्थिक बर्ष २०७५/०७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैंया बजेट पास पास गरेको छ । 

सम्बन्धित