NP EN

महत्वपूर्ण विकास योजना द्रुत गतिमा : प्रम ओली

ललितपुर, ३० भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन, तुइन विस्थापन, मेलम्चीको पानी काठमाडौँ ल्याउनेजस्ता महत्वपूर्ण  विकास योजना  द्रुत गतिमा अघि बढिरहेको बताउनुभएको छ । 

ज्यापु समाज यलले आज यहाँ आयोजना गरेको ‘रजत जयन्ती’ कार्यक्रममा उहाँले काठमाडौँबाट छिमेकी मुलुक र काठमाडौँ उपत्यकामा नै रेल सञ्चालनका लागि तयारी भइरहेको बताउनुभयो । 

“मेलम्चीको पानी छिट्टै नै काठमाडौँ उपत्यका आइपुग्नेछ, पूराना पाइपका कारण दुई चार महीना बाटो हिलो भएर हैरानी सहनुपर्ने हुनसक्छ,” उहाँले भन्नुभयो, “त्यो गाली नै सहनका लागि पनि म तयार छु तर चाँडो मेलम्चीको पानी ल्याउनुपर्छ ।” काठमाडौँ उपत्यकाका फोहोरमैला व्यवस्थापनको नयाँ ढङ्गले काम हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । 

तीनै जिल्लाका स्थानीय निकायले अहिले ‘डम्पिङ साइट’मा फोहर फारिहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “फोहरबाटै ग्यास र मल निकाल्न लाग्नुपर्छ ।” तुइन विस्थापनको काम धमाधम अघि बढिरहेको उहाँले बताउनुभयो । तुइन विस्थापित गर्न सरकारले शुरु गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ११६ वटा तुइन हटाएर त्यस स्थानमा झोलुङ्गे पुल बनेका छन् भन्नुभयो । उहाँले बाँकी रहेका ४० तुइन हटाउनका लागि झोलुङ्गे पुल निर्माणको काम अघि बढेकोे बताउनुभयो । 

पाटन सानो शहर भएर पनि ऐतिहासिक र कलाले धनी रहेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । नेपालमा प्राचीन सभ्यता, विज्ञानको विकास र शिक्षाको शुरुवात सबै कुरामा अघि रहेको उहाँले बताउनुुभयो । उहाँले भन्नुभयो, “बीचमा लामो समयसम्म शासन गर्नेले अन्योलमा राख्नाले हामी नबुझेर बस्न बाध्य भयौँ, अब त्यसको अन्त्य हुन्छ ।” अर्गानिक खेतीको विकास गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले खाने कुरामा मिसावट भएका कारण नागरिक धेरै खालका रोगबाट सिकार भइरहेकाले त्यसको अन्त्यका लागि पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पेट भर्नका लागि मात्रै नभएर स्वास्थ रहनका लागि खानुपर्छ ।”
रासस

सम्बन्धित