NP EN

​दोब्बर काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २२ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिनुभएको छ । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सकेसम्म आधा खर्चमा अहिलेको भन्दा दोब्बर काम गरेर जनतामा सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, “दुई हप्तामा गर्ने काम एक सातामा गर्न सकिन्छ । कर्मचारी सङ्ख्या पनि पर्याप्त छ । विषयगत कर्मचारीको अभाव हुनसक्छ तर मुलुकको उत्पादकत्व बढाउने गरी कर्मचारीले काम गर्ने ठाउँ छ । ढिलासुस्ती र अनियमितताको गुनासो सुन्नु नपरोस् । अब हामीले सुशासन दिनैपर्छ ।” 



प्रधानमन्त्री ओलीले लोकतन्त्रका नाममा सरकारी तलब लिएर काम नगर्ने, उपयुक्त ढङ्गले खटाएका ठाउँमा नजाने, विरोध हडताल गर्ने संस्कार अन्त्य गरी राष्ट्र निर्माणको सङ्कल्प पूरा गर्न आग्रह गर्नुभयो । सङ्घ, प्रदेश र स्थानीय सरकारको नयाँ प्रणाली लागू भएकाले अधिकारको व्यवस्थान र कार्यान्वयनका सन्दर्भमा केही अन्योल समस्या भए पनि सरकारले त्यसलाई क्रमशः मिलाउने उहाँको भनाइ छ । 

स्वच्छ, दक्ष, प्रभावकारी र नतिजामुखी प्रशासन र सेवाका लागि नयाँ निजामती कानून ल्याइने भन्दै उहाँले कर्मचारीको सुरक्षा, वृत्ति विकास, जायज मागको सुनुवाइका लागि माथिल्लोदेखि तल्लो तहसम्मका कर्मचारीका लागि उक्त कानूनले काम गर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले आधिकारिक ट्रेड युनियन कानूनी हैसियतको संस्था भएको र यसको उद्गम संस्था ट्रेड युनियन सङ्गठन यथावत् रहने स्पष्ट गर्नुभयो ।




 

सम्बन्धित