NP EN

क्षेत्रीय संगठनको प्रभावकारी गतिविधीबाट भावनात्मक सम्बन्धको विकास : प्रम ओली

काठमाडौँ, १९ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय सङ्गठनको प्रभावकारी गतिविधिबाट एकअर्का राष्ट्रबीच भावनात्मक सम्बन्धको विकास, समस्या समाधानमा एकताको जागृति र सामूहिक काममा सहकार्यको भावना कायम भएको बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै काठमाडौँमा चौथो बिम्स्टक शिखर सम्मेलन समापनपछि म्यानमा र श्रीलङ्काका राष्ट्रपति तथा भारतका प्रधानमन्त्रीसँग द्विपक्षीय हितका विषयमा औपचारिक ढङ्गले छलफल भएको जानकारी दिनुभयो । 

सम्मेलनमा जारी १८ बुँदे घोषणापत्र कार्यान्वयनमा बिम्स्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखसँग बेग्लाबेग्लै औपचारिक छलफल हँुदा एक देशविरुद्ध हुने आतङ्कवादी क्रियाकलाप हुन नदिने, पञ्चशीलको सिद्धान्तमा अडिग रहने र अहस्तक्षेपकारी सिद्धान्तलाई परिपालन गर्ने महत्वपूर्ण विषयमा छलफल भएको बताउनुभयो । 

रक्सौल–वीरगञ्ज–काठमाडौँ रेलमार्ग अध्ययन गर्न भएको समझदारी, नेपाल–भारत मैत्री पशुपतिनाथ धर्मशाला उद्घाटन, अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठा र सामथ्र्य स्थापना र नेपालको क्षेत्रीय कूटनीतिमा थप प्रभावकारिता बढेको उहाँले प्रतिनिधिसभालाई बताउनुभयो । 

प्रधानमन्त्री ओलीले सम्मेलनले बिजुली बिक्री गर्ने बाटो खोलेको बताउँदै भन्नुभयो, “सहयोगका १४ क्षेत्र पुनःसंरचना गर्ने, बौद्ध परिपथ स्थापना गर्ने, सांस्कृतिक आदानप्रदानलाई थप विस्तार गर्ने सहमति हुनुले सम्मेलन सफल भएको बताउँछ ।” प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनका बीच अधिकतम रुपमा परिचालन भई छोटो समयमा सफलता हासिल गर्न सहयोग गर्ने नेपाली जनता, सुरक्षा निकाय र बौद्धिक वर्गको महत्वपूर्ण भूमिका रहेको पनि बताउनुभयो । 

बिम्स्टेक सार्कको विकल्प होइन: प्रम 

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई विस्थापित गर्न स्थापना नभएको स्पष्ट गर्नुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यपछि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा कुनै देशकोे नेतृत्वमा सैन्य अभ्यास गर्ने सहमति नभएको पनि बताउनुभयो । 

एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले बाढीपीडितलाई उद्धार, राहत र क्षतिपूर्ति तथा असुरक्षित स्थानमा बसोबास गर्नेलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले आजै राष्ट्रियसभाको बैठकलाई पनि सम्बोधन गर्नुभएको छ । रासस

सम्बन्धित