NP EN

रक्सौल–काठमाडौं रेल सम्झौतामा हस्ताक्षर

काठमाण्डौ, १५ भदौ, प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास विमस्टेक शीखर सम्मेलन (विमस्टेक)को समापनसँगै नेपाल र भारतबीच सम्पन्न द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्वोधन गर्दै भारतका पूर्व प्रधानमन्त्री तथा विख्यात राजनेता अटलविहारी वाजपेयीको निधनप्रति दुःख व्यक्त गर्नु भयो । उहाँले हालै भारतको केरल राज्यमा आएको बाढीका कारण भएको जनधनको क्षतिले आफूलाई दुखी तुल्याएको पनि बताउनु भयो । 

आज अपरान्ह भएको वार्ताका क्रममा केही महिनाअघि नेपाल र भारतका प्रधानमन्त्रीहरुबीच भएका वार्तामा भएका समझदारीहरु क्रमशः कार्यान्वयन भइरहेकोमा दुवै पक्षबाट सन्तुष्टि व्यक्त गरिएको थियो । समझदारी अनुुसार भारतले नेपाललाई केही हवाई रुट प्रदान गरिसकेको र केही प्रदान गर्ने विषयमा प्राविधिक रुपमा छलफल भइरहेको बताउँदै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले सीमावर्ती इलाकामा हुने गरेको डुवान समस्याका सम्बन्धमा संयुक्त कार्यदलहरुले अध्ययन गरिरहेकोमा सन्तुष्टि व्यक्त गर्नु भयो । 

त्यसैगरी आन्तरिक जलमार्ग, रक्सौल–काठमाण्डौ रेलमार्ग, जोगवनी विराटनगर रेलमार्ग, जयनगर–वर्दिवास रेलमार्ग तथा टनकपुरको सडकका सम्बन्धमा भइरहेको कामप्रति दुवै देशका प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गर्नु भयो । विगतमा भएका समझदारी नेपालको आउँदो संविधान दिवस अगावै कार्यान्वयन गरिने विषयमा पुनः प्रतिवद्धता समेत जनाइयो । वार्ताका क्रममा आउँदो पाँच वर्षका लागि नेपाललाई आवश्यक पर्ने मलखाद उपलब्ध गराउने विषयमा समेत गृहकार्य भइरहेको विषयमा पनि छलफल भएको थियो । नेपाली कृषकहरुले अदुवा निर्यातका सम्बन्धमा भोगिरहनु परेको समस्यालाई भारतले अन्त्य गरिदिएकोमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

उक्त अवसरमा नेपालमा कृषिको आधुनिकीकरणका विषयमा सहयोगको आदानप्रदान गरिने विषयमा पनि छलफल भएको थियो । 

उक्त अवसरमा रक्सौल–काठमाण्डौ ब्रोडगेज रेलमार्गको प्रारम्भिक सर्भेका विषयमा दुई देशबीच हस्ताक्षर भएको समझदारी पत्रको आदान प्रदान भएको थियो । समझदारी पत्रमा नेपालका तर्फबाट सचिव भौतिक योजना मधुसुदन अधिकारी तथा भारतका तर्फबाट राजदूत मनजीत पुरीले हस्ताक्षर गर्नु भएको थियो ।   

सम्बन्धित