NP EN

​ संसदबाट जनतालाई भ्रम छर्नु बाञ्छनीय हुँदैन : प्रम ओली

काठमाडौं, १२ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट जनतालाई भ्रम पर्ने कुरा गर्नु बाञ्छनीय नहुने बताउनुभएको छ । आज संघीय संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सरकारले जनतामा सेवा प्रवाह गर्न सकेन भनेर जनतालाई भ्रममा पार्ने काममा केही माननीयहरु लागेको बताउनुभएको छ । सरकार मन्त्रालयको पुनसंरचना, स्थानीय तह, प्रदेशको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन, संविधानको कार्यन्वयनका लागि कानुनहरुको निर्माण आदि काम सरकारले गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“अघिल्लो सरकारलाई प्रादेशिक सरकार बन्छ,संघीय संसद बन्छ । त्यसका लागि कानुन बनाउनु पर्छ भन्ने हेक्का नहुंदा यो सरकारको समय ति कुरामा वित्यो” प्रधानमन्त्री ओलीले भन्नुभयो । 



आफ्नो लोकतन्त्रप्रतिको निष्ठामा कहींकतै प्रश्न नगर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । लोकतन्त्रका लागि आफूले आधा शताब्दीसम्म संघर्ष गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अरुलाई भन्दा आफूलाई यसको बढी माया भएको बताउनुभयो । “चुनाव कै बेला देखि केही मित्रहरुले अधिनायकवादको बुख्याँचा गाड्दै हिड्नुभयो जनता तर्साउन” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर ढुक्क हुनुहोस सरकार र मेरो पार्टी लोकतन्त्रका मान्यतालाई कुल्चन सक्दैन ।” 

हालै जारी भएको मुलुकी संहिता अघिल्लो बर्ष नै लालमोहर लागेको तर  त्यसलाई अहिलेको सरकारले ल्याएको जस्तो गरी प्रचार गर्नु दुःखद रहेको बताउनुभयो । 

स्थानीय तहले लगाएको करको बिषयलाई लोकतान्त्रिक प्रणालीका विरुद्ध,सरकारका विरुद्ध,प्रमका विरुद्ध लक्षित गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । “यस्ता कुरामा सार्थक बहस गरौं । छलछाम गरेर उम्कने प्रयास नगरौं । मैले थाहा पाएसम्म अहिले लगाइएको  कारोवारको कर हो । भैंसी पाल्नुहोस कर लाग्दैन । तर भैंसी बेच्नु भयो भने कर लाग्छ । यो स्वभाविक हो । यसमा कहीं कतै कमजोरी भए सच्याउला ।” संविधानले नै स्थानीय तहलाई कर उठाउने अधिकार दिएको प्रधानमन्त्रीको भनाइ छ । केही ठाउँमा नयाँ अभ्यास गर्दा तलमाथी भएको भए त्यसलाई सच्याइने तर जनताले कर तिर्ने बानीको विकास गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रदेश नं २ मा आफूले सम्बोधन गरेकोमा केही माननीयहरुले विरोध गरेको सुन्दा आफूलाई अचम्म लागेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “म देशको प्रधानमन्त्री हुँ,संघीय सरकारका नीति,कार्यक्रमहरुका बारेमा प्रदेशसँग मैले अन्तरक्रिया गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “विदेशका प्रधानमन्त्री आएर संघीय संसदमा सम्बोधन गरेका छन् । अनि आफ्नै देशको प्रधानमन्त्रीले आफ्नै प्रदेशसभामा सम्बोधन गर्न नुहने ?”



कञ्चनपुर लगायत देशका विभिन्न ठाउँमा भएका बलात्कार र हत्याका घटनाले आफूलाई दुखी तुल्याएको प्रधानमन्त्री ओलीको भनाइ छ । “यी घटनामा सरकार गम्भिर छ । दोषीलाई कारबाही गर्न प्रतिवद्ध छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “समाजालई यस्तो अपराधकर्मबाट मुक्त गराउने,मानिसको मनस्थिती यतातिर जान नदिन पनि सरकारले प्रयाु गरेको छ ।”

रौतहटमा डुंगा दुर्घटनाबाट भएको मानवीय क्षतीप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्नुभएको छ । घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । रौतहटमा पुल निर्माणको जिम्मा लिएर काम नसक्ने निर्माण कम्पनीका बिषयमा आफू गम्भिर भएको र त्यसको छानविन गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
 

सम्बन्धित