NP EN

करको भ्रम चिर्नुस्– प्रधानमन्त्री

काठमाडौँ, १२ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “हामीले ठूलो त्याग र बलिदान गरेर स्थापना गरेको सङ्घीय लोकतान्त्रिक प्रणाली स्थापना गरेका हो । नयाँ अभ्यास गर्दा केही कमी कमजोरी हुन सक्छ । त्यसलाई सच्याएर लैजानु पर्दछ । गलत हल्ला र प्रचारको पछाडि नलागौँ ।” 

नेपाल नगरपालिका सङ्घको छैटौँ राष्ट्रिय अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले करको विषयमा जनस्तरमा अनेक प्रकारका हुने नहुने भ्रम फैलाइएकाले त्यसलाई चिरेर जनतालाई सेवा दिन आग्रह गर्नुभयो । करको विषयमा रहेको बुझाइका कारण भ्रम उत्पन्न गराउन खोजिएकाले जनतालाई बुझाएर साथैमा लिएर जाने वातावरण बनाउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो । 

केही स्थानीय तहले नबुझी लागू गरेको करका कारण सङ्घीय सरकार र प्रदेश सरकारलाई समेत अपजस आएकाले त्यसलाई सच्याउनुपर्ने बताउनुभयो । स्थानीय सरकारलाई साधन स्रोत, सशक्त र प्रभावकारी बनाउन केन्द्रीय सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले जनप्रतिनिधिलाई एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले स्थानीय तहको जिम्मेवारी महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो । स्थानीय तहका जनप्रतिनिधिको वरियताका विषयमा रहेको समस्या केही दिनभित्रै टुङ्गो लगाइने र त्यसको तयारीमा सरकार रहेको जानकारी दिनुभयो । 

प्रधानमन्त्रीले दुई छिमेकी देशबीच सम्पर्क सञ्जाल विस्तारमा महत्वपूर्ण सहमति भएको र त्यसको कार्यान्वयन प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिनुभयो । “चीन र भारत दुवै देशबाट रेल सञ्जाल निर्माण प्रक्रियामा ठूलो प्रगति भएको छ । यस्तै समुन्द्रसम्मको पहुँचका लागि जलमार्गसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ” प्रधानमन्त्रीले भन्नुभयो, “हामीले नेपाल भूपरिवेष्ठित देश भन्दै आएका थियौँ अब ती दिन सकिएका छन् ।” 

नदीबाट हामी समुन्द्रसँग जोडिने भएका छौँ । भारतले जुनसुकै बन्दरगाह प्रयोग गर्नसमेत दिने भएको छ । चीनतर्फ पनि सम्पर्क सञ्जाल विस्तार भएको छ” उहाँले भन्नुभयो । यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा क्षेत्रीय सहयोग र पारस्परिक हितका १६ वटा विषय अगाडि बढाउन लागिएको प्रधानमन्त्रीको भनाइ थियो । 

सम्पर्क सञ्जालको विस्तार, जनस्तरको सम्बन्धमा विकास, सडक यातायात, ऊर्जा, दिगो विकास लक्ष्य हासिल गर्ने गरी सरकारले समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प अगाडि सारेको उल्लेख गर्दै प्रधानमन्त्रीले नीति, कार्यक्रम र योजनासमेत बनाएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । 

नेपाल सरकारले अगाडि सारेको समृद्धिको लक्ष्यलाई छिमेकी देशका सरकार, जनता एवं नेपालप्रति सद्भाव राख्नेले समेत मन पराएको र सहयोगको बचन दिएको उहाँले स्पष्ट पार्नुभयो । 
 

सम्बन्धित