NP EN

​कानून कार्यान्वयनमा आशङ्का नगर्नुस्: प्रधानमन्त्री ओली

ललितपु्र, ३१ साउन: प्रधानमन्त्री केपी शर्मा ओलीले कानून कार्यान्वयन र लोकतन्त्रको अभ्यास गर्ने सन्दर्भमा सरकारबाट कमीकमजोरी हुन्छ कि भनी आशङ्का नराख्न आग्रह गर्नुभएको छ । 

‘मुलुकी देवानी तथा फौजदारी कार्यविधि संहिता कार्यान्वयनको अवस्था र चुनौती’ विषयक कार्यक्रममा उहाँले बलिदानपूर्ण सङ्घर्ष र ठूलो दुःखले ल्याएको लोकतान्त्रिक व्यवस्थालाई स्थापित गर्न स्थिति बसाल्ने प्रयास भइरहेको बताउनुभयो । 

लोकतान्त्रिक र संवैधानिक बाटोबाट संविधान र ऐनमा कहीँकतै कमीकमजोरी छन् भने सच्याएर जान सकिने बताउँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन सरकार र संसद्को मात्र समाजको सरोकारको विषय रहेको धारणा व्यक्त गर्नुभयो । 

मुलुकलाई समृद्धि हासिल गर्ने बाटोतर्फ लैजान कानूनी राज्यको प्रभावकारिता आवश्यक पर्नेमा जोड दिँदै उहाँले समाजलाई सुव्यवस्थित र सम्मुन्नत बनाउनेतर्फ हाम्रा प्रयास केन्द्रित हुनुपर्छ भन्नुभयो । 

हामीले पाएको स्वतन्त्रतालाई ठीक ढङ्गले प्रयोग गरी अघि बढ्ने सन्दर्भमा देखिएका कमीकमजोरीलाई व्यवहारबाट सच्याउँदै जानुपर्छ भन्नेमा सरकार दृढ रहेको जनाउँदै प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित, सभ्य र शान्त राख्ने हो भने पारम्परिक भाइचारा, राष्ट्रिय भावना जगाउनेतर्फ हामी सबैको जोड हुनुपर्दछ भन्नुभयो । 

उक्त कार्यविधि संहिता शुक्रबारदेखि लागू हुनेछ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको उक्त कार्यविधि संहिता २०७४ असोज ३० गते जारी भएको थियो ।  (रासस)

सम्बन्धित