NP EN

​मुलुकी ऐनको भ्रमपूर्ण प्रचार नगर्नुस : प्रधानमन्त्री ओली

काठमाडौ, ३१ साउन - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गर्ने मुलुकी ऐनका सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय धुम्वाराही आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकी देवानी र अपराध संहिताका विषयमा भ्रमपूर्ण हल्ला नगर्न आग्रह गर्नुभएको हो ।

ओलीले भन्नुभयो, ‘मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको छ, पोहोर साल नै व्यापक छलफल गरेर संसदले पारित गरेको कानून हो ।” उहाँले  धेरै लामो सयमसम्म अध्ययन गरेर बनाएको कानून भएको उल्लेख गर्दै भन्नुभयो, “अस्पतालमा उपचार गर्दा बिरामी मर्यो भने डाक्टरलाई जन्मकैद भन्ने हल्ला छ, यस्तो पनि कही हुन्छ ? त्यस्तो पनि कानून हुन्छ ? संसदले यस्तो कानून बनाउँछ ? यस्तो भ्रम फिजाउने काम गर्न हुँदैन ।”

प्रधानमन्त्री ओलीले नयाँ कानून आउँदा केही केही व्यवस्थाहरु नयाँ आउने हुँदा अभ्यासमा केही समय लाग्ने भएपछि जनतालाई असर पर्ने खालको कुनै पनि व्यवस्था नभएको र जनप्रतिनिधि ले नै संसदबाट पास गरेको कानून भएको उल्लेख गर्नुभयो । सरकारले संविधान र कानूनको परिधिभित्र रहेर विकास निर्माण, गरिबको जीवनस्तर उकास्ने, सामाजिक सुरक्षामा ध्यान दिने, शान्ति कायम गर्ने, राष्ट्रिय एकता कायम गर्ने तरिकाले सरकारले काम गरिहेको भन्दै उहाँले आफ्नो स्वार्थका नाममा देशमा वितन्डना मच्चाउने खालका गतिविधि कसैले पनि सञ्चालन नगर्न आग्रह गर्नुभयो ।



प्रधानमन्त्री ओली भन्नुभयो, “सरकार अल्मलिएको छैन, देश अल्मलिएको छैन, जनता र युवाशक्ति अल्मलिएका छैनन, अल्मलियो कि भन्ने पीर प्रतिपक्षलाई लागेको छ, तर सरकारले राष्ट्र र जनताको हितका लागि निरन्तर काम गरेको छ ।”

पार्टीमा प्रवेश गर्ने कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीलाई नयाँ उचाईमा पु¥याउन थप बल पुगेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “उड्दा खेरी मौरीका साथ लागेर उड्यो भने फूलको थुङ्गामा पुगिन्छ, झिङ्गाको साथमा लागेर उडियो भने फोहोर डुङ्गुरमा पुगिन्छ, तँपाईहरु उडान भर्नका लागि मौरीको साथमा लाग्नुभएको छ, फूलकै थुङ्गामा पुगिने ।” उहाँले नव प्रवेशीहरु जुन उत्साह र विश्वासका साथ प्रवेश गर्नुभएको छ त्यो अनुरुप पार्टीले काम प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले काँग्रेस बनाउने आन्दोलनमा लागेका गणेशमान सिंहले जीन्दगीभर काँग्रेस भएर साशनमा पु¥याएर काँग्रेस पार्टी छाडेको र कृष्णप्रसाद भट्टराईले धेरै लामो काम गरेर काँग्रेस पार्टीमा काम गरेर छाडेको उदाहरण दिदै नव प्रवेशीलाई कार्यकतालाई सही निर्णय लिएको बताउनुभयो । कांग्रेसका पूर्वजिल्ला सचिव तथा जिविसका पूर्वसदस्य रामबहादुर खत्री, खिजीचण्डेश्वरी गाविसका पूर्वअध्यक्ष सुरेशकुमार सुनुवार, रगनी गाविसका पूर्वअध्यक्ष लालप्रसाद नेपाल, रावदलु गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर बस्नेत, खिजीकाती गाविसका पूर्वअध्यक्ष रेवतकुमार सुनुवारलगायत कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको हो । (रासस)



 

सम्बन्धित