NP EN

​नेकपाको सरकार नभएको भए देश संकटमा पर्ने थियो : प्रम

काठमाण्डौ, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकार नभएको भए देश भयानक संकटमा पर्ने थियो भन्नु भएको छ । अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पु¥याएको थियो भन्दै उहाँले अब चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने धारणा व्यक्त गर्नु भयो । 

प्रदेश नम्वर ५ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेकपाको प्रतिनिधित्व गर्ने सांसदहरुसँग सिंहदवारस्थित आफ्नै कार्यालयमा भेटघाट गर्दै उहाँले भन्नु भयो, “हामीले विकास र निर्माणका ठूला–ठूला योजना ल्याएका छौं, शिक्षा र स्वास्थ्यका क्षेत्रमा अभियानहरु सुरु गरेका छौं ।” प्रधानमन्त्री ओलीले अगाडि भन्नु भयो, “कसैलाई कम्युनिष्ट पार्टीको सरकार बनेकोमा असैह्य भएको हुन सक्छ, तर जनताले विश्वास गरेर सुविधाजनक वहुमत प्रदान गरेको अवस्थामा हामीले देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउनु पर्छ ।”  

उक्त अवसरमा नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूर्णा सुवेदी, हिराचन्द्र के.सी., सोमप्रसाद पाण्डे, तुलसा थापालगायतका सांसदहरुले सरकार र मन्त्रीहरुका काम–कार्वाहीका साथै यो आर्थिक वर्षको वजेटका सम्बन्धमा आआफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा सांसदहरुले प्रदेश नम्वर ५ का वाढी, डुवान, जंगली जनावारका आक्रमण, सिंचाइ र बाटोघाटो आदि विषयमा सरकारको ध्यानाकार्षण गराउनु भयो । प्रत्युत्तरमा प्रधानमन्त्रीले सांसदहरुका सबै चासोहरुको सुनुवाई हुँदै जाने बताउनु भयो । 
 

सम्बन्धित