NP EN

अब भ्रष्टाचारको गुनासो सुन्न नपरोस : प्रधानमन्त्री ओली

काठमाडौं, ३० असार प्रधानमन्त्री ओलीले देश निर्माणका लागि सुशासन आवश्यक रहेको बताउनुभएको छ ।

विभिन्न मन्त्रालयहरुले पेश गरेका योजनाहरुको जानकारी लिएपछि प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“सुशासन नारामा आउने तर व्यवहारमा आएन भने त्यसले जनतालाई निराश बनाउछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “जनताले अझै पनि भ्रष्टाचार ज्यूँ का त्यूँ छ भनेर गुनासो गरेको छन् । यस्तो गुनासो अब सुन्न नपरोस ।”

मन्त्री र सचिबहरुलाई सरकारले ल्याएको नीति र बजेटलाई कार्यन्वयन गर्नका लागि आज पेश गरेको दस्तवेजलाई प्रधानमन्त्रीले कार्यन्वयन योजना भन्नुभएको छ ।  पेश गरेको दस्तावेजमा नीति कार्यक्रम र बजेटमा उल्लेख भएका कुराहरुलाई कार्यन्वयनका लागि योजनावद्ध ढंगले सम्बोधन गरेको प्रधानमन्त्रीको ठहर छ । “विकासका पक्षमा यस्ता छलफल आवश्यक छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो कार्ययोजना व्यवहारमा उतारियो भने जनतामा धेरै उत्साह आउछ ।”

कतिपय मन्त्रालयले पेश गरेका योजनाले समस्या मात्र देखाएको तर समाधान नदिएकोले त्यसलाई थप सुधार गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले विगतका शासकले आफन्तको शान बढाउनका लागि स्थापना गरिएका विभिन्न निकाय खारेज गरिने प्रधानमन्त्रीले बताउनुभएको छ । “केही संस्थाहरुले जागिर खाने प्रयोजनका लागि निरन्तरता पाएका छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “तिनलाई सरकारले खारेज गर्छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले  देश बनाउने जिम्मा सरकार र कर्मचारीको काँधमा आएको बताउनुभएको छ ।  विकास र समृद्धिका लागि जनतालाई चलायमान बनाउनु पर्ने प्रधानमन्त्रीको ठहर छ । “विकाश र समृद्धिका लागि सरकार मात्र चलायमान भएर हुदैन ,जनता पनि चलायमान हुनुपर्छ । जनतालाई चलायमान बनाउने काम  सरकार र कर्मचारीको हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।



प्रधानमन्त्री ओलीले बन क्षेत्र बढाउने भन्दा बन बढाउन निर्देशन दिनुभएको छ । “बन क्षेत्र नथपे पनि हुन्छ तर बन चाँही बढाउनुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “बन क्षेत्रमा बन छैन । त्यसलाई भरिभराउ बनाउनुहोस ।”

प्रधानमन्त्री ओलीले इन्धन भण्डारणको काम तुरुन्त थाल्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले कार्ययोजना हेरेपछि सचिबहरुमा काम गर्ने अठोट र उत्साह देखिएको भन्दै प्रशंशा गर्नुभएको छ । “तपाईंहरुको अठोट र उत्साह प्रशंशा योग्य छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो उत्साहको अवस्था के कस्तो छ भनेर म कम्तीमा दुई महिनामा एक पटक रिर्पोट माग्छु ।”

सम्बन्धित