NP EN

​नेपाल चीन सम्बन्धलाई अझ व्यापक बनाउनु पर्ने ; प्रम ओली

काठमाडौं,२८ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्धलाई अझ व्यापक बनाउनु पर्ने बताउनुभएको छ । चीन सरकारलाई नेपालको तर्फबाट  एकजोडी गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले बिहिबार सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले दुई देश बीचको परम्परागत सम्बन्धलाई गैंडा उपाहारले थप मजवुद बनाएको बताउनुभएको छ । भृकुटी र अरनिकोबाट सुरु भएको नेपाल चीन सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।   

प्रधानमन्त्री ओलीले नेपालका लागि चीनका राजदुत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी नामका गैंडाको जोडी हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले भन्नुभयो “भद्र र रुपसी चीनमा आफ्नै घर जस्तो गरी स्वास्थ्य ढंगले हुर्किनेछन् । सन्तान वृद्धि गर्नेछन् ।”



वन्यजन्तुको संरक्षणका लागि सरकार संवेदनशील रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “वन्यजन्तु र प्रकृतिको संरक्षणका लागि हामीले पूर्व देखि पश्चिमसम्मका विभिन्न ठाउँमा आरक्षण र संरक्षण क्षेत्र बनाएका छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल वन्यजन्तु र चराचुरुंगीका लागि विशेष क्षेत्र भएको बताउनुभएको छ । साइवेरिया देखि श्रीलंकासम्मका चरा नेपालमा प्रजन्का लागि आउनु त्यसैको एउटा नमुना भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । 

दुई वर्ष भन्दा कम उमेरका भद्र र रुपसी चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको हो ।  








 

सम्बन्धित