NP EN

समृद्धिका लागि सुशासन आवश्यक : प्रम ओली

काठमाडौं, २२ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि प्राप्त गर्नका लागि सुशासन आवश्यक पर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघको १५ औं साधारणसभाको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“स्वच्छता,पारदर्शिता,कानुनको राज र अवसरको समतापूर्ण ढंगले वितरण भयो भने मात्र समृद्धि हासिल हुनसक्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिलेको सरकारले भनेको समृद्धि केहीका लागि मात्र नभएर सबै नेपालीका लागि हो ।” देशमा ६० प्रतिशत जनसंख्या काम गरेर खान सक्ने भएकोले यो अवसरलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । यति ठुलो जनसंख्या काम गर्ने सक्ने अवस्थामा हुनु देशको आर्थिक विकासका लागि ठुलो अवसर भएको प्रधानमन्त्री ओलीको भनाइ छ । 

विगतको सरकारको वितीय अनुशासनहिनताको कारणले वर्तमान सरकार केही अफ्ठेरोमा भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर देशलाई उद्योग मैत्री बनाउन इच्छुक रहेको स्पष्ट पार्नुभयो । “हामी निजी क्षेत्रसँग सहकार्य गर्छौं तर उद्योग बेचेर खानका लागि होइन उद्योग खोल्नका लागि” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार चाहन्छ देशलाई उद्योगतिर अघि बढाउँ ।”

प्रधानमन्त्री ओलीले उद्योगी व्यावशायीहरुलाई समेटेर सरकारले एक सल्लाहकार समुह गठन गर्न लागेको जानकारी दिनुभएको छ । उद्योगलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय उत्पादन गर्न सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालका दुवै छिमेकमा भएको विशाल जनसंख्या नेपालको उपयुक्त बजार भएकोले निर्यातजन्य वश्तुको उत्पादन गर्न व्यवाशायीहरुलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । छिमेकमा विगतमा भएका केही तिक्तता पनि सकिएर सुमधुर सम्बन्ध कायम भइसकेकोले अब नेपालबाट हुने निकासीमा कुनै समस्या नहुने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले विगतमा जस्तो अब कुनै पनि काम गर्दा चाकडी र थैलीको  भूमिका नहुने स्पष्ट पार्नुभएको छ । व्यावशायीहरुका कामका लागि कानुनी अफ्ठ्यारा,कर्मचारीको अवरोध र ढिलासुस्ती  भए सरकारलाई भन्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । “यस्ता केही झन्झटहरु भए सरकारले त्यसलाई फुकाउछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरु पनि इमान्दार कारोबार गर्नुहोस । सरकारले गर्नु पर्ने काम के छन् ल्याउनुहोस छलफल गरौं । सबै मिलेर देश बनाऔं ।”





 

सम्बन्धित