NP EN

विज्ञान प्रविधिको अधिकतम प्रयोगबाट मुलुकलाई समृद्ध बनाऔं : प्रम ओली

काठमाडौँ, १ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक विज्ञान प्रविधिलाई अधिकतम उपयोग गरी मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाइने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले आजदेखि यहाँ आयोजना गरेको ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन’ को उद्घाटन गर्दै उहाँले उपलब्ध प्राकृतिक स्रोत, साधनलाई वैज्ञानिक तवरले समृद्धिसँग जोडिनुपर्ने बताउनुभयो ।

“हामीसँग प्राकृतिक स्रोत, साधन र खनिजयुक्त संभावना छ, एउटै कुरा मात्रै आवश्यक छ, आत्मविश्वास र प्रतिवद्धता हामी गर्नसक्छौ र गछौँ भन्ने भावना युवा वैज्ञानिकमा हुनुपर्छ त्यति भएपछि हाम्रो विकासलाई कसैले रोक्न सक्दैन । युवा पलायन रोक्न र रोजगार सिर्जना गर्नेतर्फ सरकार गक्ष्य अनुसार सहयोग गर्न तयार छ । यसका लागि युवा वैज्ञानिक पनि प्रतिवद्धताका साथ लाग्नुपर्छ,”– प्रधानमन्त्री ओलीले भन्नुभयो ।

विज्ञान र प्रविधि हरेक क्षेत्रको विकास तथा उत्पादन र उत्पादकत्व बृद्धिका लागि महत्वपूर्ण छ भन्दै उहाँले कृषिको वैज्ञानिकीकरण, खनिजजन्य वस्तुको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो ।

विज्ञान र प्रविधिको सदुपयोग गर्न नसकेकै कारण मुलुकले विकासको फड्को मार्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले थप्नुभयो–“अब संकल्प गर्नुपरेको छ, यो पछौटेपन र गरिवीलाई सहदैनौ यसका लागि हरेक नयाँ उचाई रेखा तय गर्नुपर्छ । देश बनाउने जिम्मा अब युवाको काधमा आएको छ, ।”

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले आफू पद जोगाउन नभई देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको भन्दै समृद्धिको यो यात्रामा सबै क्षेत्रको सहयोग र सहकार्य अपरिहार्य भएको बताउनुभयो ।

उहाँले सम्मेलनबाट आएको निष्कर्षलाई मुलुकको समृद्धिसँग जोडेर प्रभावकारी कार्यान्वयनमा ल्याइने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

विज्ञान, सूचना तथा प्रविधिका क्षेत्रका विभिन्न विषयगत क्षेत्रका विद्यमान अवस्था (संरचना स्रोत, कार्यक्षेत्र, नतिजा) को वस्तुनिष्ठ समिक्षा गरी आगार्मी दश वर्षको लागि आवश्यक कार्यनीति तय गर्ने तथा नेपाली युवा वैज्ञानिकले गरेका आविष्कार, अनुसन्धान, सोधलाईलाई आम जनतासमक्ष पु¥याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

तीन दिनसम्म चल्ने सम्मेलनमा प्राकृतिक, विज्ञान, चिकित्सा र आयुर्वेद विज्ञान, इन्जिनियरिङ, जैविक विज्ञान, भूगर्भ, कृषि तथा वनविज्ञानलगायत १२ वटा विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।  

सम्मेलनमा करीब चार सय युवा अनुसन्धानकर्मी, वैज्ञानिक, नीति निर्माता र विज्ञानसँग सम्बन्धित सरोकारवाला निकाय संघ/संस्थाहरुको सहभागिता रहेको छ ।सो अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलन परिसर खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा युवा वैज्ञानिकद्वारा आविश्कार गरिएका विज्ञान सूचना तथा प्रविधि सम्बन्धी प्रदर्शनीको अवलोकन गर्नुभएको थियो । रासस

सम्बन्धित