NP EN

प्रधानमन्त्री ओलीद्वारा तथ्यसहितका वृहत योजना पेश गर्न मन्त्रीहरुलाई निर्देशन

काठमाडौं २१ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मन्त्रालय र विभागहरुलाई तथ्यांक सहित वृहत योजना बनाउन निर्देशन दिनु भएको छ । देशको आवश्यकतालाई बुझेर तथ्य सहित विस्तृत कार्ययोजना बनाएर पेश गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो ।

आज राष्ट्रिय विकाश समस्या समाधान समितिको ४२ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

समितिका अध्यक्ष सकेत रहनु भएका प्रधानमन्त्री ओलीले साविक जस्ता झिनामसिना होइन राष्ट्रिय महत्वका बहुसंख्यक जनता लावान्दित हुने योजना बनाउन,त्यसलाई कार्यन्वयन गर्ने कार्य योजना र सम्पन्न हुने समय समयसिमा पनि तोकेर राष्ट्रिय योजना आयोगमा पेश गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ ।

“कृषिलाई आधुनिकिकरण गर्न के के आवश्यक छ  ? के कति लगानी आवश्यक छ ? कृषिमा आश्रित कति जनसंख्या छ ? उत्पादन उत्पादकत्व वृद्धि गर्न के गर्नुपर्दछ ?” प्रधानमन्त्री ओलीले भन्नुभयो “यी सबै कुरा तथ्य सहित पेश गर्नुहोस ।”

प्रधानमन्त्री ओलीले विगतको सरकारले बन्द गरेका उद्योग वर्तमान सरकारले सञ्चालन गर्ने बताउनुभएको छ ।“ कति वटा उद्योग छन् ? के कति उद्योग बन्द छन् ? कतिलाई तत्काल सञ्चालन गर्न सकिन्छ ? यी सब योजना बनाएर कार्यन्वयन थाल्नु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले देशलाई विकासकोे नयां गतिमा लैजान खोजेको बताउनुभएको छ । “अब सबै कामलाई विगतको निरन्तरता होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “हरेक कामलाई नयां ढंगले वृहत सोचाइका साथ अघि बढाउनु पर्दछ ।”



प्रधानमन्त्री ओलीले सानातिना योजना मन्त्रालय तहबाटै टुंग्याउन र ठुला योजनाहरु राष्ट्रिय योजना आयोग र राष्ट्रिय विकास समस्या समाधान समितिमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । “दुई चपरी माटो कोदालोले नै फाल्नुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “डोजरै चलाउनु परे यहां ल्याउनुहोस ।”

प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने तर्फ सबैले ध्यान दिनु पर्ने बताउनुभएको छ । वृक्षारोपण गर्दा फलफूलका विरुवा रोप्न आग्रह गर्नुभएको छ । फलफूलका विरुवा रोप्दा रुख पनि पनि भयो फल पनि भयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “फलफूल लगाएमा फल जति किसानको रुख जति सरकारको हुन्छ । त्यसो हुंदा दुवै पक्षलाई फाइदा हुन्छ ।” 

प्रधानमन्त्री ओलीले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने वश्तुको आयातलाई तत्काल रोकिने बताउनुभएको छ । सिमामा रहेका क्वारेन्टाइन कार्यलयहरुलाई चुस्त बनाएर विदेशबाट आयात हुने वश्तुको राम्ररी परीक्षण गरेर खान योग्य भए मात्र स्वदेश भित्र्याउने अनुमति दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारले लक्ष्य राखेको समृद्ध र विकास हासिल गर्नका लागि ‘मोडालिटी,भिजन र एट्टिट्यूड’मा परिवर्तन गर्नै पर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।

सरकारको नीति तथा कार्यक्रमले देश विकासको लक्ष्य निर्दिष्ट गरेकोले त्यसलाई कार्यन्वयन गरेर विकास र समृद्धि हासिल गरिने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगलाई पनि वृहत्तर योजना बनाएर समितिको बैठकमा पेश गर्न आग्रह गर्नुभएको छ । “अब चल्ते चलाते होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “सांच्चै देश विकास गर्नुछ । त्यसले गर्दा सबैले फरक ढंगले सोचौं । फरक ढंगले काम गरौं ।”

बैठकमा राष्ट्रिय योजना आयोगका उपाधक्ष्य डा.पुष्प कडेलले आर्थिक बर्ष २०७४÷०७५ को दोस्रो चौमसिक बजेट खर्च र आयोजनाहरुको प्रगति विवरण पेश गरिएको थियो ।  बैठकमा मन्त्रीहरुले आफ्नो मन्त्रालयसंग सम्बन्धित विभिन्न योजनाहरु र तिनको सञ्चालनमा आएका कठिनाइको बिषयमा आफ्ना धारणा राख्नु भएको थियो ।

सम्बन्धित