NP EN

नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई समृद्धिसँग जोड्नु पर्छ : प्रम ओली

नुवाकोट, १७ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताउनुभएको छ ।

नुवाकोटको ककनीमा आज स्काउटको तेस्रो जम्बोरीको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा लागेकोले यसमा सबैको सहयोग हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सरकारले बालबालिका,यूवा तथा विद्यार्थीहरुको हितमा काम गर्ने बताउनुभयो । २०२४ ÷०२५ सालतिर आफू पनि स्काउटको सदस्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ । अहिलेका स्काउटले पनि भविष्यमा देश हाँक्न सक्छन् भन्ने मेरो विश्वास छ ।”

प्रधानमन्त्री ओलीले देशलाई केही बर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा अघि बढाइने बताउनुभएको छ । “नेपाललाई अब गरिब देश होइन केही बर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा पहिचान गराउदैछौं” प्रधानमन्त्री ओलीले भन्नुभयो ।  नेपाल जीवनमय देश भएकोले यसलाई सुखी नेपाली बस्ने देशको रुपमा चिनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपाल स्काउटको जग्गालाई गलत ढंगले प्रयोग गर्न वा अतिक्रमण हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

जम्बोरीमा भाग लिन  नेपाल सहित भारत,भुटान,बंगलादेशबाट सहभागीहरु आएका थिए । 

ककनीमा प्रधानमन्त्री ओलीले नेपाल स्काउट स्तम्भको पनि उद्ध्घाटन गर्नुभएको छ ।


सम्बन्धित