NP EN

सरकारको नीति तथा कार्यक्रमले पुरा हुन सक्ने विकासका आकांक्षा राखेको छ : प्रम ओली

काठमाडौं १३ जेठ ,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताउनुभएको छ । सरकारले पुरा गर्नसक्ने गरीका आकांक्षा राखिएकोले यो नीति कार्यक्रमलाई महत्वकांक्षी भन्न नमिल्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

गत जेठ ७ गते संसदमा प्रष्तुत सरकारको नीति तथा कार्यक्रममा संसदहरुले उठाएका प्रश्नको आज जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“यस बर्षको नीति कार्यक्रम कर्मकाण्डी मात्र होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसले रुपान्तरण र तिव्र विकासको लक्ष्य राखेको छ ।” प्रधानमन्त्री ओलीले नीति कार्यक्रममा समृद्ध नेपाल र सुखी नेपालीको चाहना समेटिएको बताउनुभयो । 

सरकारले सुशासन,स्वच्छता र भ्रष्टाचार नियन्त्रणमा जोड दिएको प्रधानमन्त्री ओलीको भनाइ छ । पाँच बर्ष भित्र रक्सौल काठमाडौं रेल सेवा र ३ बर्षमा काठमाडौंमा मनोरेल सेवा सञ्चालन गर्ने प्रधानमन्त्रीको भनाइ छ । “ठुला विकासका कुरा बुझ्न केही समय लाग्छ त्यसकारण केही साथीहरुले बिरोध गर्नुभएको होला । कसैले  दिवास्वपना  पनि भन्नुभएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “रेल,पानी जहाजका सपना मैले निदाएर हैन दिउसै देखेको हुँ ।”

प्रधानमन्त्री ओलीले देशका विभिन्न भागमा रहेका एयरपोर्टहरुलाई पुनमरमत गरेर  सञ्चालनमा ल्याइएको बताउनुभयो । सप्तरीको राजबिराज र अछामको साँफेबगर विमानस्थल जस्तै अन्य विमानस्थललाई पनि चाँडै सञ्चालनमा ल्याइने प्रधानमन्त्री ओलीको भनाइ छ ।

संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संविधान आवश्यकता अनुसार संसोधन गरिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आफूले सामाजिक सद्धभावमा आधारित राष्ट्रिय एकताको पक्षमा रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सबैलाई एकताबद्ध भएर समृद्धिको बाटोमा अघि बढ्न आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल दिनको २१ घण्टा सञ्चालन हुन थालेकोले अब आकासमा हुने टा«फिक जाम अन्त्य हुने बताउनुभयो ।



प्रतिपक्षी दलहरुले तीन बर्षमा हुने काम तीन महिनामा किन भएन भनेर गरेको प्रश्नप्रति व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “साथीहरुलाई म प्रति कत्रो विश्वास रहेछ । तीनबर्षमा हुने काम तीनै महिनामा गर्नेछ भन्ने विश्वासका आधारमा वहाँहरुले यस्तो प्रश्न गर्नुभएको हो ।”

प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय सभामा पनि सरकारको नीति तथा कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिनु भएको छ । संसदको बहुमतले आजै सरकारको नीति तथा कार्यक्रम अनुमोदन गरेको छ ।

सम्बन्धित