NP EN

​शिक्षामा लगानी अनुसार प्रतिफल आएन : प्रधानमन्त्री ओली

काठमाडौँ, १० जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानी अनुसार राम्रो प्रतिफल आउन नसकेको बताउनुभएको छ ।
 
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’को आज उद्घाटन गर्दै उहाँले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि राम्रो प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो ।
 
उहाँले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि कोहीसँग पनि सरकारले सम्झौता नगर्ने दृढता व्यक्त गर्नुभयो ।
 

मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुने खालको र जीवनोपयोगी शिक्षा दिन सरकार कटिबद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभयो । “अहिले हामी देश विकास गर्न कस्ता जनशक्ति चाहिन्छ भनेर छलफल गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “अब हामी मुलुकलाई चाहिने जनशक्ति मात्र उत्पादन गर्छांै । ती जनशक्तिले आमाबुबाका साथै मुलुकको सपना पूरा गर्नेछन् ।”
 
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकारी, सामुदायिक र निजी क्षेत्र मिलेर नेपालको शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले अबको दुई वर्षभित्र विद्यालय नजाने बालबालिका मात्र निरक्षर रहने बताउनुभयो ।
 
“निजी शैक्षिक संस्थाको शिक्षामा योगदान छ भन्दैमा उनीहरूले जथाभावी शुल्क लिन पाउँदैन,” उहाँले भन्नुभयो – “निजी शिक्षण संस्था नोक्सानमा जानुस् भनेर भनेको होइन ।  धेरै नाफा नखोज्नुस् भनेको हुँ ।”
 
प्रधानमन्त्री ओलीले सरकार लोकप्रियता हासिल गर्न नभई लोकप्रिय काम  गर्न बनेको पनि स्पष्ट गर्नुभयो । रासस

सम्बन्धित