NP EN

आगामी बजेट प्रगतिशिल र समाजवाद उन्मुख : प्रधानमन्त्री ओली

काठमाडौं ८ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशिल र समाजवाद उन्मुख बजेट ल्याउने बताउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टीको दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले  नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण कुराहरुलाई बजेटमा सम्बोधन गरिने बताउनुभएको छ  । 

परम्परागत ढंगले विकास निर्माणका काम अघि बढाउदा लक्ष्यमा पुग्न नसकिने बताउदै यसका लागि विकासको नयाँ प्रविधी प्रयोग गर्नै पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले अहिले  बहुमत प्राप्त कम्यूनिष्ट सरकार भएकोले यसलाई कुनै बहानामा पनि उम्किने छुट नभएको बताउनुभएको छ । “हामीसंग बहुमत प्राप्त सरकार छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसकारण जनताका अपेक्षा पनि धेरै छन् । ति अपेक्षा पुरा गर्न सकिएन भने जनताले अर्को चुनावमा अप्रिय निर्णय गर्न सक्छन् ।” प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी ढंगले आएको बताउनुभएको छ ।



प्रधानमन्त्री ओलीले जनता आवास कार्यक्रममलाई नयाँ ढंगले सञ्चालन गरिने बताउनुभयो । हिमाली क्षेत्रमा छरिएका बस्तीलाई एकिकृत गर्ने र हिमाली क्षेत्रमा पनि जनता आवास कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले साँसदहरुलाई कुनै कुरामा टिप्पणी गर्नु भएमा नेतृत्वलाई भन्न आग्रह गर्नुभएको छ । जथाभावी ढंगले असन्तुष्टी पोख्दा समस्याको समाधान नहुने भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता असन्तुष्टी पार्टी वा संसदीय दलको जिम्मेवार ठाउँमा राख्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो विज्ञता भएका बिषयमा सांसदमा कुरा राख्न सांसदहरुलाई निर्देशन दिनु भएको छ । “अध्ययन गर्ने बानी बसाउनुहोस । नजानेका कुरा सिक्नुहोस ।  तर्क र क्षमता बढाउनुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “आवेशमा आएर नबोल्नुहोस । जनमतको कदर गर्ने बानी बसाउनुहोस ।”

कार्यक्रममा नेकपाका अध्यक्ष पु्ष्पकमल दाहालले पनि सांसदहरुलाई निर्देशनात्मक मन्तव्य दिनु भएको थियो ।

सम्बन्धित