NP EN

​श्रमजिवी वर्गले अब हड्ताल गर्नु पर्दैन : प्रम ओली

काठमाण्डौ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले देशमा श्रमजिवी वर्गका लागि अनकूल सरकार बनेकोले हड्ताल गर्नै नपर्ने प्रवन्ध भएको बताउनु भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न आएको प्रतिनिधि मण्डललाई सम्वोधन गर्दै प्रधानमन्त्रीले श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन नरहेको बताउनु भयो । 

भेटघाटको सुरुवातमा दुई दिनअघि मात्र जिम्मेवारी सम्हाल्नु हुने अध्यक्ष श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्यालामा अभिवृध्दि गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गर्नु भएको थियो । उहाँले सामाजिक सुरक्षामा बढीभन्दा बढी श्रमिकको पहुँच कायम गर्न आवश्यक रहेको बताउँदै श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि श्रम अडिटको प्रधावकारी सुरुवात हुनु पर्नेमा जोड दिनु भएको थियो । 



जिफन्ट अध्यक्ष श्रेष्ठको प्रस्तुतिपछि प्रधानमन्त्रीले भन्नु भयो, हामी राष्ट्र निर्माणको महाअभियानमा छौं । कसो गर्दा सामाजिक सुरक्षा कायम हुन्छ, कसो गर्दा सामाजिक सुसम्बन्ध वलियो हुन्छ, कसरी उत्पादनमा वृध्दि हुन्छ, कसो गर्दा उत्पादन सम्बन्धमा परिवर्तन हुन्छ र शोषण अनि अन्याय हुँदैन, त्यसै गर्न वर्तमान सरकार कटिवध्द छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार श्रमजिवी वर्गसँग घनिष्ट सम्बन्ध रहेकै कारण न्यायोचित  र उत्पादनमूलक बाटोमा अग्रसर भएको बताउनु भयो । प्रधानमन्त्रीले जिफन्टका नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई तथा शुभकामना ज्ञापन गर्नु भयो । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीका प्रमूख सल्लाहकार एवं जिफन्टका निर्वतमान अध्यक्ष विष्णु रिमाल जिफन्टका संरक्षक रहनु भएको बताउनु थियो ।  
 

सम्बन्धित