NP EN

छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ : प्रम ओली

काठमाडौँ, ९ वैशाख -प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भित्र देखिएका असहमतिलाई अन्त्य गरी छिमेकीबीच सुमधुर सम्बन्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

संघीय संसद् सचिवालयले आज आयोजना गरेको ‘सार्कको प्रभावकारिता र क्षेत्रीय गोष्ठी’ नामक पुस्तकको सार्वजनिक गर्दै उहाँले सार्क राष्ट्रबीच देखिएका असमझदारीलाई न्यूनीकरण गरी आपसी विश्वास, सहयोग र सहकार्यका सुमधुर सम्बन्ध बनाउनुपर्ने बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ, छिमेकीसँग  झगडा भएमा राम्ररी सुत्न सकिँदैन, छिमेकीसँग विश्वासिलो र  सुमधुर सम्बन्ध जरुरी छ ।” उहाँले मुलुकको शान्ति र समृद्धिका लागि छिमेकीसँग नेपालको सम्बन्ध सधैँ सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सार्कको संस्थापक र सक्रिय सदस्य रहेको र सार्क मुलुकको स्रोत र साधनको विकास गर्न सार्कको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालले सार्कको अध्यक्षता गरिरहेको छ, अहिले केही राष्ट्रबीच असमझदारी भएको छ, राष्ट्रबीच आपसी वातावरण अनुकूल पार्न जरुरी छ ।” 

प्रधानमन्त्री ओलीले सार्कजस्ता राष्ट्रबीच कहिलेकाहीँ आपसमा मतभेद, असमझदारी भए पनि त्यसलाई घटाएर लगी फलदायी बनाउनुपर्नेमा जोड दिनुभयो । 

रासस

सम्बन्धित