NP EN

प्रधानमन्त्री ओलीद्वारा कुटनीतिक समूदायलाई सम्वोधन

काठमाडौं, चैत, १३, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्ना छिमेकी राष्ट्रहरुको सम्बन्धलाई अझ बढी प्रगाढ र सदृढ बनाउन अझ बढी प्रतिवद्ध रहेको बताउनुभएको छ  ।  

आज प्रधानमन्त्री निवास बालुवाटारमा कुटनीतिक समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले अन्तराष्ट्रिय समुदायसँगको  आपसी सम्बन्धका बिबिधताहरुलाई अझ पहिल्याउँदै लगिने बताउँदै उहाँले भन्नु भयो, “खासगरी व्यापार ,लगानी ,पर्यटन र जनस्तरको आदानप्रदानलाई हामी महत्व प्रदान गर्न चाहन्छौं ।” उहाँले भन्नुभयो “आपसी सहयोगका क्षेत्रमा हामी    विकासका  प्रमुख साझेदारहरुसँगको दुई पक्षीय सम्बन्धलाई निरन्तर अगाडी बढाउने छौं ।”

प्रधानमन्त्री ओलीले  विकासका साझेदारहरुबाट प्राप्त भइरहेको सहयोग र साहायताको विशेष रुपमा स्मरण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भन्नु भयो,  “हामीले विकास–सहयोगको क्षेत्रमा सफलताका कथा प्रस्तुत गर्न सक्नै पर्दछ ।”

प्रधानमन्त्री ओलीले नेपालको विद्यमान संविधानमै नेपालको राष्ट्रिय स्वार्थलाई सुस्पष्ट रुपमा परिभाषित गरिएको बताउदै भन्नु भयो, “संविधानले नै अन्तराष्ट्रिय सम्बन्ध खाका प्रस्तुत गरेको छ ।”

प्रधानमन्त्रीले नेपालको कुटनीतिक लक्ष्यका आधार अन्तराष्ट्रिय स्तरमा लोकतन्त्रको विस्तारित अभ्यास भइरहेको राष्ट्रका रुपमा नेपालको छवि प्रवद्र्धन गर्नु  र आर्थिक सामाजिक विकासका कारकको पहिचान गर्नु नै भएको बताउनुभएको छ । उहाँले नेपालको कुटनीतिक सम्बन्धका आधारहरुका विषयमा प्रकाश पार्दै  राष्ट्रिय स्वार्थ अन्तरगत सार्वभौमिकता ,अखण्डता र स्वाधिनतालाई सर्वोपरी महत्व दिइने बताउनु भएको छ ।

नेपाल पञ्चशील र असंलग्नताको सिद्धान्तका साथै संयुक्त राष्ट्रसंघको वडापत्र,अन्तराष्ट्रिय कानुन र विश्व शान्तिका मान्यताहरुप्रति प्रतिवद्ध रहनेछ भन्ने प्रतिवध्दता व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ “हामी सबैसँग मित्रता गर्ने तर कसैसँग शुत्रता नगर्ने नीतिप्रति सदा कटिवद्ध रहनेछौं ।” प्रधानमन्त्रीले विकाससम्बन्धी नेपालको  प्रयास र विकासका मानक नै  कुटनीतिक  प्रयत्नका आधारशिलाका रुपमा रहिरहने प्रष्ट पार्नु भएको छ ।

प्रधानमन्त्री ओलीले देशको संस्कृति,सभ्यता र पहिचानलाई अमूल्य निधीको रुपमा उल्लेख गर्दै भन्नु भयो, “नेपाललाई विविधता र स्रोतले परिपूर्ण राष्ट्रका रुपमा विश्वमा परिचित गराउने हाम्रो लक्ष्य रहेको छ ।” 

प्रधानमन्त्री ओलीले बहुपक्षीय सम्बन्धलाई अघि बढाउने क्रममा संयुक्त राष्ट्रसंघ लगायतका विश्व–संस्थाहरुमा नेपालको भूमिका अझ प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ  । उहाँले भन्नु भयो, “सबै  विश्व समुदायले विश्वका चुनौतिहरुलाई समान रुपमा सामना गरिहरनु परेको छ ।” प्रधानमन्त्रीले भन्नुभयो  “ती चुनौतिहरुको सम्बोधन गर्न समावेशी र कानुनमा आधारित अन्तरािष्ट्रय प्रणालीको आवश्यकता पर्दछ । ”

प्रधानमन्त्री ओलीले शान्ती, सुरक्षा, विकास तथा मानव अधिकारजस्ता संयुक्त राष्ट्र संघीय सुधारको पहलका तीन वटै आधार स्तम्भहरुलाई समान मान्यता प्रदान गरिने बताउँदै भन्नु भयो, “हामी यो विश्व निकायलाई अझ बढी सक्षम, प्रभावकारी र अझ जवाफदेही बनाउने समयसापेक्ष मागको पक्षमा छौं ।” 

प्रधानमन्त्रीले भन्नु भयो, “नेपालले संयुक्त राष्ट्र संघीय शान्ति वहाली प्रयासमा अझ प्रभावकारी रुपमा भाग लिंदै अन्तराष्ट्रिय शान्ति र सुरक्षाको संरक्षणका लागि योगदान गरिहने छ ।”

नेपाल अन्तर्राष्ट्रिय विवादहरुको शान्तिपूर्ण समाधानको पक्षमा रहेको बताउँदै उहाँले भन्नु भयो, “नेपालले आमविनाशकारी हातहतियारको सम्पूर्ण रुपमा अन्त्य गर्ने विश्व प्रयासप्रति समर्थन जनाइरहनेछ ।” उहाँले भन्नु भयो “नेपालले आतंकवाद बिरोधी अन्तर्राष्ट्रिय प्रयासप्रति समर्थन जनाइ रहनेछ । ”

कुनै पनि किसिमको आतंकवादको भत्र्सना गर्ने बताउँदै उहाँले भन्नु भयो, “नेपाल मानव अधिकारका मुद्दाहरुको वस्तुनिष्ठ समिक्षा गर्न प्रतिबद्ध छ ।” उहाँले भन्नुभयो,  “आर्थिक विकास र मानवअधिकारसम्बन्धी उत्तरदायित्वको पालनाले सबैका लागि मानव अधिकार उपभोग गर्न पाउने वातावरणलाई सुदृढ गर्दछ ।” 



प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायको सवाललाई सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग कार्यरत रहेको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई गराउनुभएको छ ।  उहाँले  मानव अधिकार तथा मानवीय कानुनको गम्भीर उल्लंघनका घटनाहरुमा आम माफी नदिइने  स्पष्ट पार्नु भयो । 

प्रधानमन्त्री ओलीले क्षेत्रीय आर्थिक सहयोगको प्रवध्र्दन नेपालको वैदेशिक नीतिको प्राथमिकतामा पर्ने बताउनु भएको छ । उहाँले भन्नु भयो, “क्षेत्रीय शान्ती, प्रगति र समृद्धि हासिल गर्न हामी क्षेत्रीय प्रयासहरुलाई गति प्रदान गर्ने उद्देश्यका साथ सार्क र विमस्टेकका सदस्य राष्ट्रहरुसँगको निकट सहकार्यलाई निरन्तरता दिने छौं ।” उहाँले भन्नु भयो, “हामी एशियन कोअपरेशन डायलग र साँघाई कोअपरेशनमा सक्रिय भूमिका निर्वाह गर्नेछौं ।”

प्रधानमन्त्री ओलीले संसारमा आर्थिक कार्यसूचीको प्रवद्र्धनलाई कुटनीतिको मूख्य क्षेत्र मानिने बताउँदै भन्नु भयो, “तसर्थ हामी नेपालका महत्वपूर्ण आर्थिक स्वार्थहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न प्रतिवद्ध रहेका छौं । ”

 

सम्बन्धित