NP EN

नयाँ ढंगले सोचौं,नयाँ कामको थालनी गरौं : प्रम ओली

काठमाण्डौ, ३ चैत्र,प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन अब कुनै पनि बहानामा ढिला गर्न नसकिने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठनको बधाइ ग्रहण पछि आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरानो शैली र ढाँचाले देशको विकास सुस्त गतिमा हुने बताउनुभयो । ‘देशको विकास गर्ने कुरामा अब ढिलढाल गर्न सकिदैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सबैले नयाँ ढंगले सोचौं ,नयाँ कामको थालनी गरौं ।’

प्रधानमन्त्री ओलीले सबैलाई उपयोगको सिद्धान्त अनुसार काम गर्न आग्रह गर्नुभएको छ । ‘गमलालाई उपयोग गरेर एक मुठा साग उत्पादन गरेर एक छाक टार्नुहोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तपाईंका लागि गरिएको यो सानो कामले कामले देशको अर्थतन्त्रलाई नै टेवा पु¥याउछ । ’

कर्मचारीको पेशागत मर्यादा र  सुरक्षामा सरकार गम्भिर रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । जागिर सुरु गर्दाको सर्त अनुसार  सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कमर्चारी अनिवार्य रुपमा जानु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । ‘खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिललो सरकारले गोल्डेन ह््याण्डचेक सहित घर पठाउने निणर्य गरेको रहेछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानु पर्छ ।’



कर्मचारीको वृति विकासका लागि पनि सेवा प्रवेश गर्दाको सर्त लागु हुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नगरपालिकामा सरुवा हुँदा बढुवा नहुने,प्रदेशमा सरुवा हुँदा फेरी संघमा आउन नपाइने भन्ने हुदैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘आवश्यकता आधारमा कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिन्छ । तर जहाँ गयो त्यहीं सिमित भएर बस्नु पर्दैन । ’

कर्मचारी स्थायी सरकार भएकोले उसको सहयोग विना कुनै पनि सरकारले छिटो छरितो ढंगले काम गर्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हिजो कर्मचारीबाट पनि केही तलमाथी भयो होला’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हिजो देशको अवस्था पनि विग्रिएको थियो । सरकारको नेतृत्व पनि विग्रिएको थियो । तर अब सबै कुरा सुध्रिएका छन् । त्यस कारण कर्मचारी पनि समय अनुसार चल्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई विकासमुखी,जनमुखी,सेवामुखी र शुशासनमुखी भएर काम गर्न निर्देशन दिनु भएको छ । नेपाल निजामती कर्मचरी संगठनका अध्यक्ष केदार देवकोटाको नेतृत्वमा आएको टोलीले निजामती क्षेत्र सुधारका लागि ११ बुंदे सुझाव समेत दिएको छ ।

 
 

सम्बन्धित