NP EN

प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री आब्बासी बीच भेटवार्ता

काठमाण्डौं २१ फागुन,प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानी प्रधानमन्त्री शाहिद अब्बासीले बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई बधाइ ज्ञापनका लागि आज अपरान्ह सवा ३ बजे काठमाण्डौ आउनु भएका प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री ओलीलाई बधाइ दिनुभएको हो ।

प्रधानमन्त्री ओली र प्रधानमन्त्री अब्बासी बीच  होटल याक एण्ड यतिमा करिब एक घण्टा भेटवार्ता भएको छ । भेटवार्तामा मुल रुपमा दुई देशको राजनीतिक र आर्थिक विकासका बिषयमा कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र सुदृढ गर्नुपर्ने काम जारी रहेको र चुनावी प्रक्रियाबाट राजनीतिक संक्रमणकाल अन्त्य गरेको स्पष्ट पार्नुभएको छ । दुई प्रधानमन्त्रीबीच सार्क क्षेत्रीय विकास र दुई देशको सम्बन्धका बारेमा समेत कुराकानी भएको छ ।



सार्कको महत्वलाई थप प्रभावकारी बनाउन दुवै प्रधानमन्त्री सहमत हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क देशहरुका बीचमा कुनै किसिमको असमझदारी भएमा त्यसलाई आपसी छलफलद्वारा टुंग्याउनु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री अब्बासीले आफू आंउदो सार्क शिखर सम्मेलन  आयोजना गर्न तयार रहेको प्रधानमन्त्री ओलीसँग बताउनुभएको छ । यस विषयमा सार्कका अन्य सदस्य राष्ट्रसँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

भेटवार्तामा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री अब्बासीले पाकिस्तान भ्रमणको निमन्त्रणा गर्नु भएको छ । प्रधानमन्त्री ओलीले उपयुक्त समयमा आफूले पाकिस्तान भ्रमण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीका साथमा अर्थमन्त्री डा.युवराज खतिवडा,प्रधानमन्त्रीका मूख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल,मूख्य सचिब लोकदर्शन रेग्मी,परराष्ट्र सचिव शंकरदाश बैरागी  लगायत सहभागी हुनुहुन्थ्यो ।

यस अघि प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा ‘गार्ड अफ अनर’ले सम्मान गरिएको थियो । 





 

सम्बन्धित