NP EN

तिब्र गतिमा देशको विकास हुने प्रधानमन्त्री ओलीको भनाई

काठमाण्डौ, १७ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास तिब्र गतिमा अघि बढ्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग आज बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अबको स्थिर सरकारले बिकासको बाटो लिएको बताउनुभयो । यसका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न पनि तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

तिब्रगतिमा अघि नबढ्ने हो भने सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नसकिने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । ‘संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा हासिल गर्ने भनेको सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्नका लागि नेपालले तिब्रगतिमा विकासलाई अघि बढाउनु पर्दछ ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सरकार कानुनी राज, स्वच्छता, पारदर्शीता र भ्रष्टाचार नियन्त्रणमा प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । उहाँले देशको आवश्यकता अनुसार उपभोग्य वस्तुको उत्पादन बढाउन व्यावसायीहरुलाई सुझाव दिनुभएको छ । प्रधानमन्त्री ओलीले उपभोगका नाममा अनावश्यक वस्तुहरुको खरिदविक्री गरेर फजुल खर्च नगर्न सबैलाई आग्रह गर्नुभएको छ । ‘चाहिने सामान खरिद गरौं, सपिङ बन्द गरौं’, उहाँले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले सरकारले आगामी दुई बर्ष भित्र दुई अंकको आर्थिकदर कायम गर्ने बताउनुभएको छ । उहाँले यो उपलब्धी हासिल गर्नका लागि सरकार नीजि क्षेत्रसँग साझेदारी गर्न तयार रहेको बताउनुभयो । सरकारले व्यावसायीक हितका लागि कानुनी रुपबाट गर्न सकिने जति सबै कुरा गर्न तयार रहेको प्रधानमन्त्री ओलीको भनाई छ । व्यावसायीहरुले चर्को बैंक व्याजका कारण आफूहरु मारमा परेको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले यसको उचित सम्बोधन हुने आस्वासन दिनुभएको छ । उहाँले बैंकहरुले धितोलाई परियोजनालाई लगानी गर्न बैंक तथा वितीय संस्थाहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘उत्पादनजन्य उद्योगहरुलाई कम व्याजदरमा बैंकहरुले ऋण उपलब्ध गराउनुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।


 

सम्बन्धित