NP EN

​प्रधानमन्त्री ओलीको संघर्षपूर्ण विगत, वितेका ती ५५८ दिन

पहिलो प्रधानमन्त्रीका रुपमा अत्यन्तै लोकप्रियता हासिल गर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ५५८ दिनअघि प्रधानमन्त्री निवास बालुवाटार छाड्दा सडकमा सर्वसाधारण ‘आइएम विथ केपी ओली’ भन्ने प्लेकार्ड बोकेर उत्रेका थिए । बाह्य शक्तिको सक्रियतामा ओलीले राष्ट्रहितमा सुरु गरेका काम असफल पार्न उक्त सरकार ढालिएको आम मानिसहरुको गुनासो थियो । उनीहरु ‘ओलीका लागि होइन, भोलिका लागि’ भन्ने नारा लगाइरहेका थिए ।
 
सरकारबाट बाहिरिंदा ओलीले जति जनसमर्थन पाउनु भएको थियो, नेपालको इतिहासमा कुनै प्रधानमन्त्रीले विरलै त्यो अवसर पाए । सरकारबाट बाहिरिंदा लोकप्रियताको चुलीमा रहनु भएका ओलीले लोकप्रियताको त्यहि जगमा पार्टीलाई मात्र होइन, एमालेसँग चुनावी गठबन्धनमा रहेको माओवादीलाई पनि चुनावी सफलता दिलाउनु भयो र आज दोस्रो पटक उहाँ भारी जनसमर्थनसाथ प्रधानमन्त्री बन्नु भएको छ । 

ओलीको विगत 
नेकपा एमालेका अध्यक्ष एवं नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा भएको हो । हाल भक्तपुरको बालकोटमा स्थायी रुपमा बस्दै आउनु भएका ओली २०७१ साल असारमा सम्पन्न नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनबाट पार्टीको अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँ २०७० साल मंसीरमा सम्पन्न संबिधान सभा निर्वाचनमा झापा क्षेत्र नम्बर सात र हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापाको क्षेत्र नम्बर ५बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

२०७२ साल असोज २४ गतेदेखि २०७३ साल श्रावण १९ गतेसम्म उहाँ पहिलोपटक प्रधानमन्त्री हुनुहुन्थ्यो । मुलुकको संविधान विरुद्ध देशमा आर्थिक नाकाबन्दी लागेका बेला पहिलो पटक प्रधानमन्त्री बन्नु भएका ओलीले आफ्नो कार्यकालमा भारतीय नाकाबन्दी मात्रै खुलाउनु भएन, भारतको विशाखापट्टनम बन्दरगाहको उपभोग गर्ने हक पनि कायम गराउनु भयो । उहाँले छिमेकी मित्रराष्ट्र चीनसँग ऐतिहासिक पारवहन सन्धी गरी भूपरिवेष्ठित राष्ट्रले पाउने अधिकार स्थापित गराउनु भयो र एक देशीय निर्भरता तोड्दै ब्यापार विविधकरणको खुला मार्ग तयार गर्नुभयो । नेपाल–चीन रेल्वे सम्झौता, पेट्रोलियम पदार्थ आयात गर्ने सम्झौता, खनिज उत्खनन् सम्झौता र अन्तर्राष्ट्रिय विद्युत ट्रान्समिशन लाइन लगायतका सम्झौता गर्नु भएको थियो । ओलीको पहिलो प्रधानमन्त्रीत्वकाल जनताबीच निकै लोकप्रिय भएको थियो । 

२०७० साल माघ २१ गते भएको एमाले संसदीय दलको निर्वाचनमा उहाँ संसदीय दलको नेतामा निर्वाचित हुनु भएको थियो । अध्यक्ष ओलीको राजनीतिक यात्रा २०२३ सालमा माक्र्सबादी अध्ययन दलमा संगठित भई प्रारम्भ भएको हो । २०२५ सालबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी सम्बध्द विधार्थी फाँटको फ्रयाक्सन कमिटीमा आबध्द भई उहाँले नेतृत्व गर्नु भएको थियो । २०२६ सालमा नेकपा कम्युनिष्ट पार्टीको सदस्यता पाउनु भएका ओली तत्कालीन झापा विद्रोहका एक जना संस्थापक र तत्कालीन नेकपा माले गठन हँुदाका संस्थापक मध्ये एक नेता हुनुहुन्छ ।

निरंकुश पञ्चायती व्यबस्थाका विरुध्दको आन्दोलनमा उहाँ २०२७ साल फागुन १६ गते झापाबाट गिरफ्तार हुनु भएको थियो । २०३० साल असोज २३ बाट उहाँको जेल जीवन प्रारम्भ भएको थियो । त्यसपछि अध्यक्ष ओलीले लगातार १४ वर्ष जेल जीवन विताउनु भएको थियो । २०४४ साल असार ११ मा उहाँ भद्रगोल जेलबाट रिहा हुनु भएको थियो । २०४४ साल पुस २ गते धादिङको धुसा गाउँ पञ्चायत ७ स्यादुलमा भूमिगत रुपमा बसेको तत्कालीन नेकपा मालेको बैठकबाट ओली केन्द्रीय कमिटि सदस्य हुनुभएको थियो । २०४६ सालमा तत्कालीन माले पार्टीको लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन गर्नु भएका अध्यक्ष ओली २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौं महाधिवेशनदेखि अध्यक्षमा निर्वाचित हुनु अघिसम्म एमालेको स्थायी समिति सदस्य हुनुहुन्थ्यो । उहाँ युवा संघ नेपालको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।

२०४८ , २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा उहाँ झापाबाट निर्वाचित हुनुभएको थियो भने २०५१ सालमा स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको पहिलो कम्युनिष्ट सरकारमा ओलीले गृह मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो । २०६२–६३ को जनान्दोलनपछि स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा ओलीले उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

जननेता मदन भण्डारीको सामिप्यमा रहेर नेकपा एमालेको विचार, सिध्दान्त निर्माणमा अहम भूमिका निर्वाह गर्नुभएका अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणका निम्ति पनि अहम भूमिका निर्वाह गर्नु भएको छ । देशका ७५ जिल्लाको भ्रमण गरिसक्नु भएका एमाले अध्यक्ष ओली भारत, चीन अमेरिका, बेलायत लगायतका देशहरुको पनि भ्रमण गर्नु भएको छ ।

​<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित