NP EN

अध्यक्ष ओलीद्वारा शिवरात्रिका अवसरमा शुभकामना व्यक्त

काठमाडौँ, १ फागुन ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले महाशिवरात्रि राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै नेपालीहरुबीचको आपसी एकता, सद्भाव र भाइचारा सम्बन्धमा जोड दिनुभएको छ । ‘धार्मिक साँस्कृतिक पर्व नेपालको एकताका आधार स्तम्भहरु हुन्,’ अध्यक्ष ओलीको भनाइ छ, ‘धार्मिक पर्वहरुको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा मिलोस् ।’

ओलीले हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचन पछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएकोले अब देशको प्राथमिकता विकास र समृद्धि भएको बताउनुभएको छ । अध्यक्ष ओलीले आफ्नो शुभकामना सन्देसमा भन्नुभएको छ ‘निर्वाचन मार्फत जनताले प्रकट गरेको स्थिरता, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि  कसैसँग पनि सम्झौता गर्दैनौ ।’

नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक देश भएकोले यहाँ हरेक जातजातिका आफ्ना आफ्ना पर्व भए पनि सबैजाति र धर्म मान्ने सम्प्रदायले अपनतव् महसुस गर्नु नेपालीको मौलिकपन भएको ओलीको शुभकामनामा उल्लेख छ । महाशिवरात्रि हिन्दूहरुको पर्व भए पनि सबै धार्मिक समूदायले उत्तिकै श्रद्धा गरेको उल्लेख गर्दै उहाँले एक अर्काको धार्मिक आस्थामाथि श्रद्धा गर्ने नेपालीको परम्परा नै भएको बताउनुभएको छ । 

ओलीले संविधानबाट नै धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरिएको स्मरण गर्दै  नेपालीको शान्ति र समृद्धिको चाहनालाई नयाँ सरकारले पूरा गर्न हरतरहले काम गर्ने विश्वास दिलाउनुभएको छ । उहाँले नेपाललाई विकास र समृद्धिको यात्रामा अघि बढाउन नेपाली–नेपालीबीचको एकता र समन्वय अपरिहार्य रहेको बताउँदै सबैले आफ्नो ठाउँमा सहयोग गर्न पनि अपिल पनि गर्नुभएको छ ।
 

सम्बन्धित