NP EN

वाम गठबन्धनलाई नयाँ युगको जिम्मेवारी : ओली

          

काठमाण्डौ १६ माघ,नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनलाई जनताले नयाँ युगको जिम्मेवारी दिएको बताउनुभएको छ । सहिद दिवशका अवसरमा एक वक्तव्य जारी गर्दै समृद्ध राष्ट्र निर्माणको महाअभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान पनि गर्नुभएको छ ।

 लोकतान्त्रिक आन्दोलनका ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै ओलीले आफ्नो वक्तव्यमा भन्नुभएको छ ‘वाम गठबन्धनप्रति जनताको यस विश्वासप्रति हामी आभार प्रकट गर्न चाहन्छौं र यहाँहरुको विश्वासको उच्च सम्मान र कार्यान्वयन हुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँं । ’ ओलीले राजनीतिक स्थायित्व, सामाजिक न्याय र समानता, राष्ट्रिय स्वाधीनता तथा स्वाभिमान, सामाजिक सद्भाव एवं समृद्धि जस्ता जनताका चाहनाहरुलाई सम्बोधन गर्न आज एमाले र माओवादी केन्द्र गठबन्धनमा आवद्ध भएको बताउनुभएको छ ।

      उखेलिएको राजतन्त्र पुनस्र्थापना गर्ने स्वीकारोक्ति र गलत कार्यले राणा शासनको अन्त्य भए पनि जनचाहना अनुसारको लोकतन्त्र स्थापना गर्न र जनताका हक अधिकारहरु स्थापित गर्न भने विगत सात दशकसम्म नेपाली जनताले  निरन्तर सङ्घर्ष गर्नु परेको ओलीको धारणा छ । सहिदहरुको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको  संविधानसभाले संविधान जारी गरेर नेपालीहरुलाई अधिकार सम्पन्न बनाएको ओलीको आफ्नो वक्तव्यमा उल्लेख गर्नुभएको छ । नेपालको राजनीतिक,सामाजिक,न्यायीक अधिकार प्राप्तीका लागि सहिदहरुले गरेको बलिदानीको स्मरण गर्दै ओलीले ‘सुखी नेपाली,समृद्ध नेपाल’को लक्ष्य प्राप्त गर्नु नै सहिदहरुप्रतिको सच्चा श्रद्धान्जली हुने कुरा व्यक्त गर्नुभएको छ ।

सम्बन्धित