NP EN

बैंककबाट फर्केर ओली– प्रदेश प्रमुख र मुकाम तोक्न भनेका थियौं, यहाँ यसलाई तोक भनेका थिएनौं

काठमाडौं, ४ माघ– एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्न सहमति दिइए पनि कसलाई कहाँ तोक्ने भन्ने विषयमा आफूहरुले सहमति नदिएको वताउनु भएको छ । 

स्वास्थ्य परीक्षणका गरी बिहीवार बैंककबाट फर्किनु भएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै चुनाव अघि नै आफूहरुले सरकारलाई प्रदेशका अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्न भनेको तर, सरकारले यसलाई राजनीतिक दाउपेचको विषय बनाएर लोकतन्त्रमाथि प्रहारको अस्त्र बनाएको वताउनुभयो । 

‘हामीले धेरै अघि नै सहमतिसाथ प्रदेशका अस्थायी मुकाम र प्रदेश प्रमुखहरु तोकौं भनेका थियौं, सरकारले मानेन । चुनाव सम्पन्न भएपछि सहमति मिलेन भनेर पर्खने र ढिलाई गर्ने काम सरकारले नै गर्यो’ ओलीको भनाई थियो, ‘हामीले प्रदेशका मुकाम र प्रदेश प्रमुख तोक्न सहमति दिएका थियौं, कहाँ तोक्ने र कसलाई तोक्ने विषयमा सरकारले हामीसँग सहमति मागेको पनि थिएन र हामीले सहमति दिएको पनि थिएन ।’ 

प्रदेशका अस्थायी मुकामबारे सोधिएको प्रश्नमा ओलीले प्रदेशसभाका बैठकपछि त्यसले अनुकुलता, आवश्यकता र सम्भाब्यताका आधारमा प्रदेशका स्थायी मुकाम तोक्ने वताउनुभयो । 

चुनावबाट नयाँ जनादेश आइसकेपछि त्यसमा ब्यवधान खडा गर्न नै संविधानको गलत ब्याख्या गरिंदै आएको वताउँदै ओलीले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश मार्फत लोकतन्त्रमाथि लुकेर प्रहार गरिएको वताउनु भयो । ‘ढिलो गर्न र अल्मल्याउनकै लागि, संविधान कार्यान्वयनमा अवरोध गर्नकै लागि संविधानका लगत ब्याख्याहरु भए’ ओलीले भन्नुभयो, ‘अध्यादेश अनुपयुक्त किसिमले, अनुपयुक्त मनसायका साथ र अनुपयुक्त प्रावधान राखेर ल्याइयो । लुकेर लोकतन्त्रमाथि प्रहार गरियो ।’ संविधानको अहिले गलत ब्याख्या गरिए पनि भविश्यमा यस्ता गलत ब्याख्याबाट संविधानलाई जोगाउनु पर्ने वताउनुभयो । 

एमाले र माओवादी बीच पार्टी एकताबारे सोधिएको प्रश्नमा ओलीले एकता नहोस् भन्ने आशा गर्ने र एकताप्रति शंका गर्ने दुवैलाई आशंका र आशाबाट मुक्त हुन आग्रह गर्नुभयो । ‘एकता नभए हुन्थ्यो भनेर आशा गर्ने पनि छन्, एकता हुँदैन कि भनेर आशंका गर्ने पनि छन्’ ओलीले भन्नुभयो, ‘आशा गर्नेले पनि आशा नगरुन्, आशंका गर्नेले पनि आशंका नगरुन् । एकता हुन्छ ।’ 

एकतापछिको नेतृत्वका विषयमा सोधिएको प्रश्नमा ओलीले छलफलबाट नेतृत्वबारे जे निर्णय हुन्छ त्यहि अनुसार हुने वताउनुभयो । ‘नेतृत्वका विषयमा जे टुंगो लाग्छ, त्यहि हुन्छ’ ओलीको भनाई थियो । 

आफू स्वास्थ्य परीक्षणका लागि बैंकक गएकाबेला केहि अनलाईनहरुमा आएका अफवाहबारे ओलीले आपत्ती जनाउनुभयो । ‘सञ्चार माध्यमले सूचना देलखन्, समाचार लेख्लान् भन्ने लागेको थियो’ ओलीले भन्नुभयो, ‘तर, हाम्रोमा पत्रकार भन्दा बढि कथाकार भएर हो वा किन हो नचाहिने कुरालाई कथा बनाएर दिग्भ्रमित पार्ने काम भयो ।’  आफू स्वास्थ्य उपचारका लागि नभई नियमित स्वास्थ्य परीक्षणका लागि गएको र स्वास्थ्य ठीक रहेको ओलीको भनाई थियो । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित