NP EN

पार्टी एकताप्रति ओलीको विश्वास– भाँड्न खोज्नेहरु माघे घाम ताप्छन्

काठमाडौं, २६ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले षड्यन्त्रपूर्ण ढंगले जनमतको अनादर र अवमुल्यन गरेको वताउनु भएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक प्रस्थान गर्नुअघि बुधबार विमानस्थलमा पत्रकारहरुसँग उहाँले बिभिन्न बहाना खोजेर लज्जाजनक ढंगले सरकार गठनमा ढिलाई भएकोमा आक्रोश व्यक्त गर्नुभएको हो ।

‘यहाँ सबै ढंगले, अनेक प्रपञ्चका साथ षड्यन्त्रपूर्ण ढंगले जनताको अभिमतको अनादर गर्ने, अवमूल्यन गर्ने र लज्जाजनक ढंगले सरकार गठनमा बिभिन्न प्रकारका बहाना खोजेर ढिलो गर्ने काम भएको छ’ उहाँले भन्नुभयो ।  

राष्ट्रियसभा र प्रतिनिधिसभा दुबैमा महिलाहरुको प्रतिनिधित्व ३३ प्रतिशत न्युनतम होस् भन्ने अभिप्रायका साथ संविधानमा लेखिएको भए पनि त्यसलाई गलत व्याख्या गर्ने र सरकार गठन गर्ने प्रतिनिधि सभाको अधिकार रोक्ने प्रयास भएको उहाँले बताउनु भयो ।

‘दुबै सदनमा गरेर महिलाको ३३ प्रतिशत सुनिश्चित गर्ने संविधानको अभिप्रायलाई प्रतिनिधिसभाको सरकार गठन सम्बन्धी अधिकारसँग जोडेर व्यवधान गर्न खोजिएको छ, त्यो अनुचित छ’ ओलीले भन्नुभयो, ‘सरकारले पहिला राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश नभएकाले रोकियो भनिराखेको थियो, अहिले अध्यादेश जारी भएको पनि धेरै भएको छ । तर फेरि पनि गर्नुपर्ने काम गरिरहेको छैन ।’

प्रदेशका अस्थायी केन्द्र तोक्ने र प्रदेश प्रमुख नियुक्त गर्ने काम सरकारको भए पनि ती गर्नुपर्ने काम नगरी सरकार अझै सत्ता लम्ब्याउन सकिन्छ भनेर लागेको बताउनु भयो । उहाँले निर्वाचन आयोग ‘ब्ल्याकमेलिङ’ को शिकार भएको भन्ने आफूले सुनेको भन्दै त्यसमा आयोगका आयुक्तहरु नै जानकार भएको बताउनु भयो । 

‘निर्वाचन आयोग बिभिन्न प्रकारका ‘ब्ल्याकमेलिङ’ को शिकार भएको भन्ने सुनिन्छ । कति साँचो हो उहाँहरुले (प्रमुख आयुक्त र आयुक्तहरु) जान्नुहोला । अथवा यदि उहाँहरुलाई कानुनी कुरामा नै अफ्ठ्यारो लागेको छ, त्यो पनि उहाँहरुले जान्नु होला तर जे भइरहेको छ, त्यो अनुचित छ’ ओलीले भन्नुभयो । 

प्रधानन्यायाधीश र सर्वोच्च अदालतका बारेमा डा. गोविन्द केसीले भनिरहेका कुराहरुले पनि समस्या रहेको देखाउने भन्दै त्यसका बारेमा पनि सम्बन्धित निकायले प्रष्ट पार्नुपर्ने उहाँले बताउनु भयो । 

अध्यक्ष ओलीले निर्वाचनको परिणाम अनुसार सरकार हस्तान्तरण गर्नुपर्ने बताउनु भयो । ‘जे जे भइरहेका छन्, ती उचित छैनन्’ उहाँले भन्नुभयो, ‘हामी सरकारलाई भनिरहेका छौं, निर्वाचनको परिणाम अनुसार अहिले सरकार हस्तान्तरण गर्नुपर्यो । त्यस कामका लागि आवश्यक पर्ने तयारीका कुरामात्रै यो नितान्त कामचलाउ सरकारले गर्ने हो ।’

उहाँले सरकारले आफ्नो हैसियत बुझेर नै छिटै प्रदेशका केन्द्र तोक्ने र प्रदेश प्रमुख नियुक्त गर्ने विश्वास लिएको बताउनु भयो । ‘राष्ट्रियसभा निर्वाचनमा दल दर्ताका लागि १५ दिनको समय जरुरी थिएन तर अव यो अघि बढिसकेको छ । अव यस्ता कुरामा अल्झिनु हुँदैन, अल्झाउनु हुँदैन । सरकारले लोकतान्त्रिक अभ्यास नरोकोस् । नयाँ सरकार गठन गर्न गर्नुपर्ने काम फटाफट गरोस्’ ओलीको भनाई थियो ।

उहाँले संविधानको कार्यान्वयन सहज र उपयुक्त ढंगले गर्दै जानुपर्ने उल्लेख गर्दै कार्यान्वयन गर्दै जाने क्रममा आवश्यक परेमा संशोधन गर्न सकिने बताउनु भयो । ‘संविधानलाई सफल बनाउनुपर्छ, देशलाई अघि बढाउन र  जनतालाई सुबिधा सम्पन्न बनाउन संविधान कार्यान्वयन गर्दै जानुपर्छ । संविधान कार्यान्वयनको बाटोबाट देश र लोकतन्त्र अघि बढ्छ । त्यससँगै अन्य विकासका बाटाहरु छन् ।  सुशासन, स्वच्छता र पारदर्शिताका पाटाहरुमा ध्यान दिनुपर्छ’ ओलीले भन्नुभयो ।

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित