NP EN

‘कांग्रेसको ५ वर्षे प्रधानमन्त्री प्रस्ताव गैंडाको किस’

काठमाडौं, ५ पुस – एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमत गुमाइसकेको नेपाली कांग्रेसले अध्यादेशको दुरुपयोग गरेर राष्ट्रपतिलाई समेत विवादमा तान्ने प्रयास गरेको बताउनु भएको छ । 

उहाँले दल विशेषका लागि अध्यादेश ल्याउने अभ्यास दुनियाँमा कतै पनि नभएको भन्दै त्यसमार्फत राष्ट्रपतिलाई विवादमा नतान्न सरकार र कांग्रेसलाई चेतावनी दिनुभएको हो ।

‘राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश रोक्नु असंबैधानिक भनेर भ्रमको खेती गर्न खोजिएको छ । दल विशेषका लागि अध्यादेश लगिंदैन’ काठमाडौ जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचितहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बुधबार उहाँले भन्नुभयो, ‘राष्ट्रपतिलाई विवादमा तान्ने काम गलत भइरहेको छ । निर्वाचनमा पराजित भएपछि आफू अनुकुलको प्रावधान सहित अध्यादेश लगेर स्वीकृत गर्न सरकारले दवाव दिनु अप्रजातान्त्रिक हो । म सबैलाई प्रजातान्त्रिक मुल्य मान्यताको पालना गर्न र नैतिकतामा बस्न आग्रह गर्दछु ।’

जनमत गुमाइसकेको सरकारले आफू अनुकुलको प्रावधानसहितको राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश ल्याएर जनमतको अपमान गरेको उहाँले बताउनु भयो । ‘सरकारमै बस्ने, अनि जनमत नमान्ने ? अभिमत नमान्ने हुन्छ ?’ ओलीले भन्नुभयो, ‘मैले हारँे, त्यसकारण अव एकल संक्रमणीय भनेर अर्को बाटो जानुपर्छ भन्न पाइन्छ ? दुनियामा यस्तो कतै हुन्छ ?’

जनमतको अपमान गर्दै सरकार गठनको प्रक्रिया नरोक्न चेतावनी दिंदै त्यसो भएमा जनताले कांग्रेसलाई थप नङयाउने बताउनु भयो । ‘प्रतिनिधिसभा र राष्ट्रियसभा फरक हो । सरकारले यसरी नै दुरुपयोग गर्दै जान्छ भने  हेर्दै जानुहोस् हामी कसरी अघि बढ्छौं’ उहाँले भन्नुभयो, ‘यदि कांगे्रसले अध्यादेशको यसरी दुरुपयोग गर्छ भने कांगे्रसलाई यसले थप नङ्ग्याउनेछ । जनताले यो भन्दा बढि नङ्ग्याउनेछन्, कांग्रेसलाई हेक्का रहोस् ।’ 

एमालेले प्रतिपक्षमा नै बसेर अत्यधिक बहुमतसहितको जनमत ल्याएको बताउनु भयो । ‘हाम्रो यो जित प्रतिपक्षमै बसेर ल्याएको हो । ‘निट एण्ड क्लिन’ जनमत हो ।’ उहाँले भन्नुभयो । 

काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभासहित गरेर २० मा १६ जितेको उल्लेख गर्दै त्यसले काठमाडौंको जनमत वाम शक्तिको पक्षमा रहेको प्रष्ट भएको बताउनु भयो । ‘हामीले यहाँ ८० प्रतिशत जित्यौं । अब कसको उम्मेद्वारले जित्यो भन्ने छैन । वाम गठबन्धनले जितेको हो । यो गठबन्धनको जित हो’ उहाँले भन्नुभयो ।

एमाले र माओवादी केन्द्रबीचको तालमेल र एकतालाई भाँड्न नेपाली कांग्रेस लागेको उल्लेख गर्दै अव कम्युनिष्ट शक्तिलाई फूटाउने खेल सफल नहुने बताउनु भयो । ‘अहिले कांग्रेसले नजिक आएर मायाले किस गर्न खोजेको जस्तो गर्दैछ । त्यो गैंडाको जिब्रोले किस गरेजस्तै हो ।  गैंडाको जिब्रोले चाट्दा छालामात्र होइन, मासु नै लुँड्याएर लान्छ’ ओलीले भन्नुभयो, ‘अहिले एकथरी गैंडा यसो किस गरौं न त भन्दै आएका छन् । हामीले बुझ्या छैनौं र ? त्यसमा अव कोही पर्दैन ।’

वाम शक्तिलाई फूटाउने प्रयास अव इतिहास भएको र त्यो संभव नभएको बताउनु भयो । वाम शक्तिलाई जनताको बहुदलीय जनवादको धागोले जोडेको भन्दै अव त्यही धागोले समृद्ध नेपाल निर्माण गर्ने बताउनु भयो । ‘मालाका लागि धागो चाहिएको थियो । जबज त्यही धागो हो । अहिले जुन अवस्थामा हामी आएका छौं, त्यो अव थप प्रभाबकारी बनाएर जान्छौं । अव त्यो छाड्नु हुँदैन ।’ उहाँको भनाई थियो । 

उहाँले निर्वाचित सांसदहरुलाई इमान र असिमित नैतिकता प्रदर्शन गरेर काम गर्न सुझाव दिनुभयो । ‘अव एक इन्च समय पनि, एक सेकेन्ड समय पनि पनि खेर नफाल्नुहोस्, हरेक ढंगले अव अघि बढ्न तयार हुनुहोस् । एक रुपयाँ पनि नखानुहोस्, इमानमा तलमाथि भयो भने मलाई सह्य हुँदैन’ उहाँले भन्नुभयो ।  

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित