NP EN

राष्ट्रपति परामर्शमा सक्रिय, ओली र दाहाल शीतलनिवासमा

काठमाडौं, ५ पुस– एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो राजनीतिक स्थितिबारे छलफल गर्न राष्ट्रपति भवन शीतलनिवास पुग्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न ओली र दाहाललाई बोलाउनु भएको हो । 

दलीय सहमतिले संसदमा प्रस्तुत विधेयक विपरितको राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश कामचलाउ सरकारले राष्ट्रपति समक्ष पेश गरेपछि उक्त अध्यादेशबारे राजनीतिक सहमति जुटाउन राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै आउनु भएको थियो । राष्ट्रियसभाको निर्वाचक मण्डल रहेको स्थानीय चुनावको नतिजा आएपछि सरकारले नतिजा हेरेर पहिले संसदमा प्रस्तुत विधेयक परिवर्तन गर्दै अध्यादेश पेश गरेको थियो । 

दलीय सहमतिका आधारमा निर्वाचन आयोगले बहुमतीय प्रक्रियाका आधारमा राष्ट्रियसभाको निर्वाचन गर्ने विधेयको मस्यौदा सरकारलाई दिएको थियो । सोही विधेयक संसदमा प्रस्तुत गरेपछि स्थानीय तहको निर्वाचन नतिजा आयो । निर्वाचन नतिजा आफ्नो पक्षमा नदेखेपछि सरकारले प्रस्तुत गरेको राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयकमा सत्तारुढ कांग्रेसले संशोधन प्रस्ताव दर्ता गरेको थियो । संसद रहुन्जेल विधेयकलाई विवादको विषय बनाएर संसदको म्याद सकिएपछि सरकारले कांग्रेसको संशोधन प्रस्ताव अनुरुप अध्यादेश बनाई स्वीकृतिका लागि राष्ट्रपति समक्ष बुझाएको थियो । तर, दलीय सहमति पनि नभएको र दलीय पूर्व सहमति उल्ट्याएर कामचलाउ हैसियतमा रहेको सरकारले ल्याएको अध्यादेश विवादास्पद हुने देखेपछि राष्ट्रपति भण्डारीले त्यस विषयमा सहमति खोज्न प्रधानमन्त्री देउवालाई सुझाव दिंदै आउनु भएको थियो । 

अध्यादेशकै विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाललाई बोलाएको बुझिएको छ ।

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित