NP EN

सरकार गठनमा अवरोध नगर्न देउवालाई एमाले–माओवादीको आग्रह

काठमाडौं, २ पुस–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनको विषय अघि सारेर नयाँ म्याण्डेट अनुसारको सरकार गठनमा अवरोध नगर्न प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । 

काठमाडौंमा आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै दुवै पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट प्राप्त नयाँ जनादेशलाई ध्यान दिएर सरकार गठनका लागि मार्गप्रशस्त गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आग्रह गरेका हुन् । सरकार गठनका विषयमा सरकार र नेपाली कांग्रेसले संविधानको गलत व्याख्या गरिरहेको भन्दै त्यसले जनमतको अवमूल्यन भएको उनीहरुले वताएका छन् । 

‘सरकारलाई संविधानको गलत व्याख्या नगर्न, संविधान कार्यान्वयनमा अवरोध नगर्न र लोकतान्त्रिक प्रक्रियाबाट प्रकट भएको जनमतलाई अवमूल्यन र अनादर नगर्न आग्रह गर्छौं’  ओली र दाहालद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘ताजा जनादेशअनुरुप नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आह्वान गर्दछौं ।’ पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष भीम रावलले संयुक्त विज्ञप्ति पढेर सुनाएका थिए । निर्वाचनको परिणाम आइसकेपछि सत्ता हस्तान्तरण गर्नुपर्नेमा कांग्रेस नेतृत्वको कामचलाउ सरकारले सरुवा, बढुवा र देशमा दूरगामी असर पर्ने निर्णय गरेको भन्दै गठबन्धनले आपत्ति जनाएको छ । 

देशमा स्थिरता, विकास र समृद्धिका लागि वामपन्थी नेतृत्वमा सरकार बनाउन आफूहरु प्रतिबद्ध रहेको भन्दै गठबन्धनले निर्वाचनका केन्द्रीय घोषणा पत्र र स्थानीय प्रतिबद्धता कार्यान्वयन गरी जनता र राष्ट्रको सेवामा समर्पित हुने संकल्प पनि गरेको छ । प्रतिपक्षी दलबाट रचनात्मक भूमिको अपेक्षा नयाँ सरकारको रहने उल्लेख गरिएको छ । 

नेपालको संविधानद्वारा निर्देशित रही स्वतन्त्र परराष्ट्रनीतिको अनुशरण गर्दै सबै मित्रराष्ट्र र विशेषतः छिमेकी देशहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सुमधुर सम्बन्ध राख्ने पनि गठबन्धनले प्रतिबद्धता दोहोर्याएको छ । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित