NP EN

ओलीको प्रश्नः चुनावी परिणाम हेरेर ल्याएको अध्यादेश पारित नभए सांसदहरुलाई अवकाश दिने हो ?

काठमाडौं, १ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम हेरेर कानुन सच्याउने र हारेपछि सत्तामा बसिरहने अभ्यास त्याग्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । वालकोटस्थित निवासमा पुगेको रिपोटर्स क्लव नेपालको प्रतिनिधि मण्डलसँग प्रतिक्रिया दिंदै ओलीले निर्वाचन परिणाम आउञ्जेल कानुन बनाउन पर्खिने र निर्वाचन परिणाम आएपछि अनुकुल हुनेगरी अध्यादेश जारी गर्न लगाउँदै लोकतन्त्रको खिल्ली नउडाउन कांग्रेसलाई आग्रह गरेका हुन् । 

‘राष्ट्रियसभा गठन विधि सम्बन्धी कानुन बनाउन समय छउन्जेल नदिने, निर्वाचन परिणाम आउन्जेल पर्खिने र परिणाम आइसकेपछि अनुकुल हुनेगरी पठाइएको अध्यादेश राष्ट्रपतिले जारी गरिदिनै पर्ने’ ओलीले भने, ‘हारेपछि सरकार छोड्नु कता हो कता, हारेपछि कानुन संशोधन, हारेपछि नियुक्ति । अव कांग्रेसले खुला रुपमै घोषणा गरोस् वामपन्थीहरुले जितेकाले अव उप्रान्त हारेकाले सरकार सञ्चालन गर्ने ब्यवस्था गरिनेछ ।’ 

राष्ट्रियसभा र सरकार गठनका आ–आफ्नै विधि भएको र राष्ट्रियसभाको निर्वाचनसँग सरकार गठनको कुनै साइनो नभएको वताए । ‘चुनावको परिणाम आएपछि निर्वाचन आयोगले सात दिन भित्र राष्ट्रपति समक्ष नतिजा बुझाउँछ र सरकार गठनको प्रक्रिया अघि बढ्छ’ ओलीले भने, ‘विगतका परम्परा र हाम्रो आजको कानुनी ब्यवस्था यही हो, राष्ट्रियसभा गठन र सरकार गठन छुट्टा छुट्टै विषय हुन् ।’ राष्ट्रियसभाको चुनावका लागि कांग्रेस सरकारले राष्ट्रपति समक्ष बुझाएको अध्यादेश जारी गरिनु पर्ने जिकीर कांग्रेस र प्रधानमन्त्री देउवाले गर्दै आएका छन् । तर, संसदले अस्वीकृत गरेको विधेयकलाई नै अध्यादेशका रुपमा सरकारले राष्ट्रपति समक्ष बुझाएको थियो । 

निर्वाचन आयोगलाई संवैधानकि भूमिकामा रहन आग्रह गर्दै ओलीले कसैका टुवीटका पछि लागेर नभड्किन आग्रह गरे । कांग्रेसको कोटामा निर्वाचन आयुक्त भएकी इला शर्माले राष्ट्रियसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित नहुञ्जले प्रतिनिधिसभाको निर्वाचन परिणाम सार्वजनिक गर्न नमिल्ने भन्दै ट्वीट गरेकी थिइन् । तर, राष्ट्रियसभामा पनि समावेशी रुपमा महिला चयनका लागि आरक्षणको कोटा छुट्याइएको छ । राष्ट्रियसभाको महिला प्रतिििनधित्व प्रतिनिधिसभाबाट क्षतिपूर्ति भराइने ब्यवस्था संविधानमा छैन । कांग्रेसको राजनीतिक लाभका लागि राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार गठनको पक्षमा माहौल बनाउन शर्माले यस्तो विवादास्पद ट्वीट गरेकी थिइन् । 

संविधानमा बहुमतीय निर्वाचन प्रणालीका आधारमा राष्ट्रियसभा चयन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचन परिणाम आएपछि देउवा सरकारले त्यसलाई हेरेर एकल संक्रमणीय मतको आधारमा राष्ट्रियसभा निर्वाचन गर्ने अध्यादेश राष्ट्रपति समक्ष पेश गरेका हुन् । एमाले अध्यक्ष ओलीले चुनावी परिणामलाई हेरेर पेश गरिएको अध्यादेश जारी हुन नसक्ने र त्यस्तो अध्यादेश ल्याउँदा अहिले चुनावका विजेता दलको सहमति विना नै ल्याइएको वताए । ‘कि हार्नेले भने अनुसारको कानुनबाट मुलुक चल्छ भनिनु पर्यो नत्र निर्वाचन परिणाम पर्खेर, त्यसलाई हेरेर, आफ्ना सदस्य थपिनेगरी बनाइएको अध्यादेश नयाँ संसदले अस्वीकृत गर्छ’ ओलीको भनाई थियो, ‘म निर्वाचन आयोगलाई सुन्नेगरी भन्न चाहन्छु, भोलि अध्यादेश पारित नभए सांसदहरुलाई अवकाश दिने हो ?’

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित