NP EN

उद्यमीसमक्ष सुनाए ओलीले योजना– राम्रो पारिश्रमिकमा स्वदेशमै रोजगारीको ब्यवस्था हुन्छ

भक्तपुर, २८ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अव बन्ने सरकारले राम्रो पारिश्रमिक सहित स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने वताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरुको प्रतिनिधि मण्डलसँग कुरा गर्दै ओलीले यसवर्षको निर्वाचनले जनतामा विकास र समृद्धिको आकांक्षा जन्माएको पनि वताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरुको टोली अध्यक्ष ओलीसमक्ष ज्ञापन पत्र लिएर बालकोट पुगेको थियो । अध्यक्ष ओलीले ०४६ सालको परिवर्तन पछि देशमा निजीकरणका नाममा भ्रष्टीकरण बढेको बताउनुभयो । ‘नीजिकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योगहरु काँग्रेसको पालामा बेचिए ’ ओलीले भन्नुभयो ‘जसले गर्दा स्वेदशमा भएको रोजगारी समेत गुमेर आज लाखौं युवा खाडीमा पसिना बगाइरहेका छन् ।’ ओलीले आगामी सरकारले स्वदेशमै राम्रो पारिश्रमिक सहितको रोजगारीको व्यवस्थामा ध्यान दिने बताउनुभएको छ ।

सम्पती शुद्धिकरणका नाममा व्यावसायीहरुलाई आफ्नो पूँजीलाई सहज ढंगले परिचालन गर्न रोक लगाएको ओलीले बताउनुभयो । ‘आफ्नै खाताबाट १० लाख रुपैंया भन्दा बढी रकम झिक्न बन्देज लगाएपछि लगानीको वातावरण कसरी बन्छ ?’ ओलीको प्रश्न थियो ‘सरकारको काम  लगानीमैत्री वातावरण बनाएर व्यावसायीसँग कर उठाउने हो तर अनावश्यक बखेडा झिकेर गैर कानुनी रकम आजर्न गर्ने होइन ।’

अध्यक्ष ओलीले निजी क्षेत्रले विकास र समृद्धिका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्ने र सरकारले त्यसलाई सहज हुने गरी नीति बनाएर सहकार्य गर्ने बताउनुभयो । महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्म ज्योती, प्रदिपकुमार श्रेष्ठ, रवीभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज बैद्य र भाष्करराज कर्णिकारले संयुक्त हस्ताक्षर गरेर बुझाएको ज्ञापन पत्रमा देशको संक्रमणकाल अन्त्यका लागि प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंशा गरिएको छ । ज्ञापन पत्रमा वाम गठबन्धनको दुईतिहाइ आसपासको बहुमतले देश अब स्थिरताको यात्रामा अघि बढेको महसुष भएको उल्लेख छ । ज्ञापन पत्रमा भनिएको छ ‘तपाईंको नेतृत्वमा गठन हुने आगामी सरकारले समृद्धि र आर्थिक विकासको लागि निजी क्षेत्रको सहभागितामुलक सहयोग र साथ रहने विश्वास दिलाउन चाहन्छौं ।’

ओलीले आगामी सरकार देश निर्माणका लागि निजी क्षेत्रसँग हातमालो गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यसैगरी बालकोटमै अध्यक्ष ओलीलाई बधाइ दिन आएको नेपाल राष्ट्रिय मारवाडी परिषद केन्द्रीय समितिसँग कुरा गर्दै ओलीले मारवाडी समुदायले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । तर यो समुदायलाई केही राजनीतिक दलले दुहुनो गाई बनाएको दृष्टान्त दिंदै  वाम गठबन्धनका विरुद्ध विपक्षीले फैलाएका हल्लामा नलाग्न ओलीले परिषदलाई आग्रह गर्नुभयो छ । सरकारसँग उद्योग, मजदुर, देशको आवश्यकता, उत्पादन आदि कुनै पनि क्षेत्रको यकिन तथ्यांक नभएकोले व्यावसायिक क्षेत्र अनुमानका भरमा सञ्चालन भइरहेको ओलीले वताउनुभयो । ‘नाडी छामेका भरमा रोगको शंका गरेर शंकाकै भरमा औषधी खुवाईंदैछ’ ओलीले भन्नुभयो ‘अब यस्तो हँुदैन । उद्योग, मजदुर, उत्पादन, बजार आदि सबै क्षेत्रका खास समस्या पहिचान गरेर त्यसै अनुसार समाधान पनि खोजिनेछ ।’ 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित