NP EN

यो निर्वाचन अभिमतको क्रान्ति : ओली

काठमाडौं, २७ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपालीको निर्वाचन बिकास र समृद्धिका लागि जनताको अभिमतको क्रान्ती भएको बताउनु भएको छ । 

नेपालमा जनताको हक अधिकारको खोजीका लागि कहिले शसस्त्र क्रान्ती, कहिले जनआन्दोलन भए पनि यसपालीको निर्वाचनमा जनताले क्रान्तीकै शैलीमा अभिमत प्रकट गरेको उहाँले बताउनु भएको हो । 

निर्वाचनमा विजयको बधाइ दिन आएका विभिन्न संघ,संस्थाका प्रतिनिधिलाई बुधबार आफ्नै निवास बालकोटमा संबोधन गर्दै ओलीले समृद्धि र विकासका लागि मत दिएको बताउनु भयो । ‘कांग्रेसले बहुमत ल्याएका बेला एमालेसंग कुरा गर्नेहरुलाई पनि झुटा मुद्दा लगाएर फसाइएको थियो ’ ओलीले भन्नुभयो ‘ तर हामी त्यस्तो गर्दैनौं । प्रतिपक्षीलाई पनि साथमा लिएर अगाडि बढ्छौं ।’

चुनावका बेला प्रतिष्पर्धी भएकोले कांग्रेससँग केही घोचपेच भए पनि अब त्यो अध्याय सकिएको ओलीको भनाइ थियो । ‘कुस्ती खेल्न मैदान गएपछि एक आपसमा मुक्का हानाहान हुन्छ । तर खेल सकिएपछि बाटामा हिँडेका बेला मुक्का हानिदैन’ ओलीले भन्नुभयो ‘त्यसैले अब एमाले अन्य पार्टीसंग सहकार्य गरेर अघि बढ्छ । किनभने अब पाँचबर्षका लागि चुनावी प्रतिष्पर्धा सकियो ।’

आगामी सरकार क्षमताहिन मानिस थोपर्ने ठाउँ नहुने ओलीले बताउनुभयो ।  भ्रष्टाचार नियन्त्रण र लोकतन्त्रलाई जीवन पद्धतीको रुपमा अघि बढ्न निजामती कर्मचारीहरुलाई अध्यक्ष ओलीले आग्रह गर्नुभएको छ । ‘तपाईंहरुबाट जनताले सुशासनको अपेक्षा राखेका छन्’ ओलीले भन्नुभयो ‘छिटो, छरितो र भ्रष्टाचारमुक्त सेवा दिएर जनतालाई सुशासनको अनुभूती दिनुहोस । ’ 

यसैगरी बधाई दिन आएको च्याम्बर अफ कमर्सको टोलीलाई अध्यक्ष ओलीले अबको नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेकोले निजी क्षेत्रको भूमिका त्यसै अनुसार हुनुपर्ने बताउनुभयो । उद्योगी व्यावसायीहरुलाई ढुक्क भएर उद्योग कलकारखानमा लगानी गर्न ओलीले सुझाव दिनुभएको छ । ‘अब हड्ताल र बन्दको युग सकियो’ ओलीले भन्नुभयो ‘अब उत्पादन,विकास र समृद्धिको युग सुरु भइसक्यो ।’

ओलीलाई बधाइ दिन  अनेरास्ववियूका अध्यक्ष  नविना लामा ,नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा,आधिकारीक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल,च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायत आएका थिए ।

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित