NP EN

झापामा ओली : प्रतिपक्षसँग सहकार्य गर्दै देश बिकासमा अघि बढ्छु

काठमाडौं, २५ मंसिर – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षसँग सहकार्य र सम्मानपूर्ण व्यवहार गर्दै देश बिकासमा अघि बढ्ने बताउनु भएको छ । 

प्रतिनिधिसभामा निर्वाचित प्रमाणपत्र बुझ्न तथा बिजय र्याली÷सभामा सहभागि हुन झापा पुग्नु भएका ओलीले प्रतिपक्षीसँग सहकार्य गर्दै बिकास र समृद्धिमा अघि बढ्ने बताउनु भएको हो ।  निर्वाचित प्रमाणपत्र बुझेपछि उहाँले सरकार संचालन निस्पक्षता, स्वच्छता र पारदर्शिताका आधारमा गरिने पनि बताउनु भयो ।  ‘अब राजनीतिका कुरा होइन, विकासका कुरा गर्छौं । हामीले बहुमत ल्याउनेमात्र सोचेको थिएनौं, बहुमत ल्याएपछि के गर्ने भन्ने पनि सोचेर अघि बढेका हौं’ अध्यक्ष ओलीले भन्नुभयो,‘साम्प्रदायिक विद्धेषको अन्त गर्दै राष्ट्रिय एकता कायम गरेर विकास र समृद्धिको बाटोमा मुलुकलाई लैजान्छौं ।’

निर्वाचनले एमाले र वाम शक्तिका एजेण्डा र अडानलाई स्वभाबिक रुपमा अनुमोदन गरेको भन्दै जनताले भावनात्मक एकता, साम्प्रदायिक सद्भावसहितको बिकास र समृद्धि खोजेको बताउनु भयो । ‘हामीले स्वभाविक बिजय हासिल गरेका छौं । जनताले हाम्रो एजेण्डा र हामीले लिएका अडानलाई अनुमोदन गरेका छन् । अव हामीले हाम्रा कार्यक्रम र एजेण्डाको कार्यान्वयन गर्दै अघि बढ्नुछ ।’ प्रमाणपत्र बुझेपछि लगत्तै भद्रपुरमा आयोजित बिजयसभालाई ओलीले संवोधन गर्नुभयो । उहाँले झापाका सबै ५ प्रतिनिधिसभा क्षेत्र र १० प्रदेशसभा जितेर २०४८ सालको हैसियत पुर्नस्थापित गरेको भन्दै त्यसका लागि सबै झापाली जनतालाई बधाई दिनुभयो । 

‘संघीय, प्रदेश र स्थानीय सरकार अव हाम्रा जनप्रतिनिधिद्वारा संचालित हुन्छन, जनताप्रति उत्तरदायी प्रतिनिधिहरुद्वारा हुन्छ’ ओलीले भन्नुभयो,‘राम्रो काम गरेन भने अर्को चुनावमा जनताको साथ र समर्थन पाइदैन भन्ने प्रष्ट छ । त्यसैले अव देश बिकासको एकमात्र एजेण्डामा सबै सरकार केन्द्रिकृत हुनुको बिकल्प छैन ।’
जनताको मतद्वारा निर्वाचित संविधानसभा र त्यसका कार्यान्वयनसँग भएको निर्वाचनपछि अव देश नयाँ युगमा प्रवेश गरेको उहाँले बताउनु भयो । ‘अव देश नयाँ युगमा प्रबेश गरेको छ । लामो समयदेखि संघर्ष गर्यौं, झेल्यौं । अहिले आएर हामीले त्यसका उपलब्धीलाई संस्थागत गरेका छौं । मिहनेतसाथ संविधानमा संरक्षित गरेका छौं’ ओलीले भन्नुभयो ।  

संघीयतामार्फत जनतालाई छिटो र सजिलो अधिकार प्रयोग गर्ने ब्यवस्था गरिएको भन्दै यसको प्रयोगले अव जनता तल्लो तहसम्म नै आफ्नो मालिक आफैं हुने बताउनु भयो । उहाँले देशको बिकासका निम्ति बैचारिक र नीतिगत नेतृत्व गर्न सक्ने  पार्टीलाई बहुमत दिएको र त्यसको उचित सम्मान आफूले गर्ने उहाँको भनाई थियो । ‘अव गर्न सक्ने नीति, बिचार भएको समुहलाई जनताले बहुमत दिएका छन् ।  सामाजिक सद्भाव, राष्ट्रिय एकता कायम गरेर बिकास गर्ने हो । बिकास र समृद्धि हाम्रो प्राथमिकता हो’ उहाँले भन्नुभयो । 

वाम नेतृत्वको सरकारले भ्रष्टाचारीलाई नसहने, गुण्डागर्दी नमान्ने र भ्रष्टचाररहित र कानुनी राज भएको शासन संचालन हुने उहाँले बताउनु भयो । अध्यक्ष ओलीले क्षेत्र न. ५ का जनताले आफूलाई सबैभन्दा बढी मत दिएर जिताएको भन्दै धन्यवाद दिनुभयो । ‘सबैभन्दा बढी मत दिएर जिताउनु भएकोमा म ५ न. क्षेत्रका जनतालाई बिशेष आभार प्रकट गर्न चाहान्छु । म मेरो निर्वाचन क्षेत्रमा आउन भ्याइन, अन्यत्र मैले जानु पर्यो । अत्यधिक मतले जिताउनु हुन्छ भन्ने बिश्वास गरेको थिए, जिताउनु भयो । बिशेष आभार प्रकट गर्न चाहान्छु’ उहाँले भन्नुभयो । भद्रपुरपछि ओलीले धुलाबारी, बिर्तामोड र दमकमा आयोजित बिजयसभालाई संवोधन गर्दै हुनुहुन्छ भने मंगलबार गौरादह, गौरीगञ्ज र स्कूलचौनमा बिजय र्यालीमा सहभागिता र सभालाई संवोधन गर्ने कार्यक्रम छ । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित