NP EN

जीतपछि ओलीको मार्मिक प्रतिक्रिया– काम गरेर सफलता पाउन बाँकी नै छ

जनताको ठूलो पंक्ति लगभग २५ प्रतिशत देश बाहिर हुँदा पनि ७० प्रतिशत मतदान हुनु जनतामा निर्वाचन प्रतिको उत्साह हो, राष्ट्रपतिको सजगता हो । यो उत्साह र सहभागिताका लागि सबै  दाजुभाई दिदीबिहिनीलाई हार्दिक धन्यबाद दिन्छु । यस्तै निर्वाचन गराउन सरिक हुने सबैलाई धन्यवाद भन्न चाहन्छु । यस कामलाई सम्पन्न गर्न निर्वाचन आयोग, अदालत, सरकारका प्रशासनिक र सुरक्षा निकाय, संयन्त्र, र राजनीतिक पार्टी  निकाय, संघ, संस्था, संचार माध्यम सबैलाई  धन्यावाद भन्न चाहन्छु ।  

कसैले भड्काउँदा नभड्किएर, कसैले अल्मल्याउँदा नअलमलिएर सही ठाउँमा मतदान गर्ने, एमाले र माओवादी केन्द सहितको देशभक्त र प्रगतिशील गठबन्धनलाई सुदृढ स्थितिमा पुर्याउन योगदान गर्ने सचेत मतदातालाई धन्यवाद । एमाले कार्यकर्ता, माओवादी कार्यकर्ता सबैलाई धन्यवाद । देशलाई सुदृढ अवस्थामा पुर्याउनका लागि मतदान गर्ने सबैमा धन्यवाद दिन चाहन्छु । 

हामीले देशको आवश्यकता र जनताको अपेक्षालाई ध्यानमा राखेर निर्वाचनका बेला हाम्रा केही योजनाहरु अघि सार्यौं । जनमतले त्यसलाई अनुमोदन गरेको छ । हामी जन आकांक्षालाई ध्यानमा राखेर अघि बढ्नेछौं । पार्टीहरुले केही गर्दैनन् भनेर अराजकताको खेती गर्न खोजिएको छ, थियो । अनेक कुतर्क ल्याएर दलीय प्रणालीलाई खुइल्याउने, प्रक्रिया खुइल्याउने, राम्रो र नराम्रो गर्ने दुवैथरीलाई एकै ठाउँमा राखेर हेर्ने र त्यसै अनुसार सवै उस्तै हुन् भन्ने प्रचार थियो । राम्रोको खोजी नगर्ने र राम्रोलाई पनि नराम्रोसँगै राखेर बदनाम गर्ने प्रयास थियो, छन् । त्यस्ता षड्यन्त्रपूर्ण प्रबृत्ति देखापरेको थियो, छ । 

राजनीति टाइम पास गर्ने थलोजस्तो फूसर्दको समयमा गर्ने काम जस्तो एउटा मनोविज्ञान बनाइयो । त्यसले राम्रो नचाहिने तर, राम्रो नराम्रो जे भए पनि नयाँ चाहिने जस्तो अफवाह पनि बन्यो । राम्रो र नराम्रोलाई उस्तै सावित गर्न अनेक प्रवृत्ति चलाउन खोजियो । राष्ट्रियता के हो, समाजिक दायित्व के हो, समृद्धि के हो ? यसलाई कसरी प्राप्त गर्न सकिन्छ भन्नेतिर नलाग्ने, बरु यसलाई ओझेलमा पार्ने र चटके कुरामा माहोल बनाउने तर, सही विकल्पलाई विगार्ने काम पनि यसै बीचमा भयो ।  यस्तो प्रबृत्ति र षड्यन्त्रलाई नेपाली जनताले चिने । 

पहिचानका नाममा बिखण्डन, संविधान संशोधनका नाममा डरलागदा षड्यन्त्र, ती सबैलाई नेपाली जनताले पराजित गरेका छन् । अराजनीतिलाई राजनीतिको आवरण दिने र राजनीतिलाई बदनाम गर्ने प्रबृत्ति बुझेर नेपाली नागरिकले मतदान गरेका छन् । आम नेपाली नागरिकले जुन विश्वास दिनुभएको छ, त्यसप्रति धन्यवाद दिन्छु । जनताको विश्वासलाई हामी कर्तब्यका रुपमा वहन गर्नेछौं र जनतालाई निराशाबाट मुक्त गर्ने संकल्प गर्नेछौं । आमाबुवा, दाजुभाइ, दिदी बहिनी कसैले पनि अव भविश्यप्रति निराश हुनुपर्ने ठाउँ राख्दैनौं । हामीले सबै समुदायको हितको रक्षा र सम्बद्र्धन पनि गर्नुछ । हामी चुनौतीपूर्ण अवस्थामा छौं, त्यो चुनौतीलाई वहन गर्नेछौं ।  

विकास र समृद्धिको जन चाहना र आकांक्षा पूरा हुन्छन् । नेकपा एमाले र माओवादी केन्द्र बीचको यस तालमेललाई जसरी विश्वास दिनुभएको छ, त्यसमा निराश हुनुपर्ने अवस्था सिर्जना गर्दैनौं । पेशगात, समुदायगत सवै अधिकारको रक्षाको प्रश्न छ, त्यसलाई हामी रक्षा गर्छाैं ।

अर्को, हामी चुनौतीपूर्ण अवस्थामा छौं । प्रदेशसभाको बैठक कहाँ बोलाउने, बैठक बस्न ठूला ठूला त्रिपाल खोज्नुपर्ने अवस्था छ । मन्त्रीक्वार्टर, चिफ मिनिष्टर कहाँ बस्ने ? यो सरकारले केही पनि गरेको छैन । पाल टाँगेर बस्नुपर्ने अवस्था छ, प्रदेशसभाको बैठक । प्रदेशसभाको बैठक फलाना ठाउँमा बोलाइएको छ भनेर भन्नुपर्ने छ । अर्थात् हामी सहज अवस्थामा छैनौं  । काम गर्नुछ । गरेरै देखाउनु छ । जनताको जीवनमा समृद्धि प्रत्यक्ष रुपमै दिनु छ । 

तर, हामी प्रतिकूलमा आत्तिदैनौं, सहज परिस्थितिमा मात्तिंदैनौं । हाम्रो संस्कार पनि त्यहि हो । अप्ठ्यारोमा नआत्तिने र सहज बेलामा नमात्तिने संस्कारबाट हामी हुर्केका हौं । संसदमा २४० मध्ये ३३ सिट मात्रै जित्दा पनि हामी आत्तिएनौं । लोकतान्त्रिक व्यवस्थामा फेरि सुदृढ अवस्था बनाउन सक्छौं भन्ने ठानेर त्यसबेला काम गर्यौं । अहिले हामी सफलताबाट मात्तिने छैनौं, सफलता त अव पाउनु पर्नेछ, मुलुकलाई समृद्धिमा लैजाने सफलता । 

अहिले २१ औं शताब्दीको दोस्रो दशक पनि टुंगिन लागेको छ । यस्तो बेला विकासको गतिलाई अघि बढाउने मात्र होइन अत्यन्तै तीब्र गतिका साथ अघि बढाउनु पर्नेछ । लोकतन्त्रलाई संस्थागत गर्दै सामाजिक सद्भाव राष्ट्रिय एकताका कायम गदैै विविधता भएको एकतावद्ध मुलुकका रुपमा स्थापित गर्नुछ । देशलाई नमुना देशको रुपमा विकास गर्नुछ । अव हामी पछाडि पर्नु पर्ने कारण छैन । अगाडि बढ्ने दिशामा जान हामी गम्भीर हुनुपर्छ । त्यसका लागि सहि नीति कार्यक्रम सहित अग्रगामी हिसावले जानुपर्छ । मेरो के भयो भन्ने होइएन, देशका लागि के गर्ने भनेर काम गर्नुपर्छ । 

(भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेश बस्नेत र प्रदेशसभामा निर्वाचित एमाले उम्मेदवारद्वय शशीजंग थापा र राजेन्द्रमान श्रेष्ठलाई आफ्नै निवासमा वधाई दिंदा एमाले अध्यक्ष ओलीले पत्रकार सामु ब्यक्त गरेको विचारको सार संक्षेप)

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>
 

सम्बन्धित