NP EN

चन्द्रगढीमा ओली– वाम सरकार बनेपछि लोकतन्त्र होइन, कांग्रेसको शासन मासिन्छ

झापा, १३ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले लोकतान्त्रिक प्रणालीलाई नभएर आफ्नो सरकारलाई नै लोकतन्त्र भन्ने गरेको भन्दै चुनावपछि कांग्रेसको शासन मासिने वताउनु भएको छ । चुनावी कार्यक्रमको सिलसिलामा गृहनगर झापा आइपुग्नु भएका ओलीले कांग्रेसले आफू सत्तामा हुनुलाई नै लोकतन्त्र ठानेकाले सत्ता गुम्ने कुरालाई लोकतन्त्र गुम्दै  गरेको अर्थ लगाएको वताउनु भयो । 

झापाको चन्द्रगढी विमानस्थलमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिंदै ओलीले आफू सरकारमा हुनुलाई मात्र कांग्रेसले लोकतन्त्र ठानेकाले कांग्रेससँग लोकतन्त्रको सिमित परिभाषा मात्र रहेको वताउनुभयो ।  ‘कांग्रेसको लोकतन्त्र भनेको आफूले सरकार चलाउने हो, अरुले चलाए उसले अधिनायकवाद भन्छ’ ओलीको भनाई थियो, ‘वाम गठबन्धन बनेकाले लोकतन्त्र असुरक्षित छ भन्दै हिंडेको कांग्रेसलाई म भन्न चाहन्छु, लोकतन्त्र सुरक्षित छ, कांग्रेसको शासन मात्रै असुरक्षित भएको हो ।’ 

ओलीले वामपन्थी सरकार आएपछि लोकतन्त्र सबैभन्दा सुरक्षित हुने वताउँदै कांग्रेसी शासन भने मासिन सक्ने वताउनुभयो । ‘साथीहरु तर्सेका छन्  तर, अब लोकतन्त्र जोगिन्छ, कांग्रेसी शासन मासिन्छ’ ओलीको भनाई थियो । अध्यक्ष ओलीले कांग्रेस सकिदैमा लोकतन्त्र मासिने र कांग्रेस जोगिँदैमा लोकतन्त्र जोगिने नभएको भन्दै वाम  गठबन्ध पूर्ण रुपमा लोकतान्त्रिक रहेको वताउनुभयो ।

अध्यक्ष ओलीले निर्वाचन आयोगले आफूले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै पत्र काटेको बारे आफूलाई केही थाहा नभएको बताउनुभयो । पत्रपत्रिकामा आएका विज्ञापनका आधारमा आयोगले ध्यानाकर्षण गरेको हुनसक्ने वताउँदै वाम गठबन्ध्नले जित्ने बुझेपछि वधाईका लागि त्यस्ता विज्ञापनहरु आउन सक्ने ओलीले वताउनुभयो । ‘निर्वाचन आयोगले मेरो नाममा चिट काटेको छ रे,  किन काटेको थाहा छैन’ ओलीको भनाई थियो, ‘मैले आचार संहिता उल्लंघन गरेको छैन, आचार संहिता उल्लंघन गर्ने म कांग्रेस सभापति हुँ र ? म त एमाले अध्यक्ष पो हुँ ।’ 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित