NP EN

कांग्रेस समाजवाद भन्दा झस्कन्छ, राष्ट्रियता भन्दा तर्सन्छ, लोकतन्त्र भन्दा विच्किन्छ

बर्दिया, ११ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओलीले बीपी कोइराला र गणेशमान सिंहले नेतृत्व गरेको कांग्रेस अहिले नभएको वताउँदै लोकतन्त्रको रक्षा, आर्थिक समृद्धि र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न वाम गठबन्धनलाई जिताउन आग्रह गर्नु भएको छ । वर्दियाको गुलरियामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अहिलेको कांग्रेस समाजवादको कुरा गर्दा झस्किने, राष्ट्रियताको कुरा गर्दा तर्सिने र लोकतन्त्रको कुरा गर्दा बिच्किने वताउनुभयो । 

‘प्रजातन्त्र, समाजवाद र राष्ट्रियता भन्ने बीपी कोइराला अहिले हुनुहुन्न, गणेशमान हुनुहुन्न’ ओलीको भनाई थियो, ‘अहिलेको कांग्रेस समाजवाद भन्दा झस्किन्छ, राष्ट्रियता भन्दा तर्सिन्छ । पहाड र तराई छुट्याउनु पर्छ भनेर जातीय क्षेत्रीय बिखण्डनको मुद्दा बोकेर हिंडेको कांग्रेस छ । लोकतन्त्रको कुरा त कांग्रेसलाई गर्नै हुन्न, मनपरीतन्त्र मात्रै जानेको छ ।’ 

ओलीले पहिलेको कांग्रेस सम्झेर ब्यवहार नगर्न मतदातालाई सुझाव दिनुभयो । ‘तपाईंले पहिले चिनेको कांग्रेस अहिले छैन’ ओलीले भन्नुभयो, ‘लोकतन्त्रको रक्षा हामी गर्छाैं, तपाईंले चाहेको विकास हामी दिन्छौं । आउनुस् मिलेर देश बनाउँ । ’ 

ओलीले वामपन्थी दलको उकता बाँडीचुँडी खानका लागि नभई देश निर्माणका लागि भएको वताउनुभयो । उहाँले चुनाव सकेपछि पार्टी उकता गरिने वताउनुभयो । ‘अहिले एकता गर्न नभ्याएर चुनावी तालमेल गरेका हौं, चुनावपछि एउटै पार्टी निर्माण गरेर जान्छौं’ ओलीले भन्नुभयो, ‘बाँडीचुँडी खान होइन, देश बनाउन, राष्ट्रिय स्वाधीनता रक्षा गर्न, राष्ट्रिय स्वाभिमान माथि उठाउन, लोकतन्त्र रक्षा गर्न हामी एक हुन लागेका हौं ।’ 

ओलीले वामपन्थीले चुनाव जित्ने थाहा पाएर विपक्षीहरु अहिले देखि नै काप्न थालेको वताउनुभयो । ‘अहिले उनीहरु आत्तिएर काम्न थालेका छन्, कम्युनिस्ट आए भने तानाशाही हुन्छ भन्दैछन् । तपाईंहरुले चिनीराखे हुन्छ, ती तिनै मान्छे हुन् जसले पहिले ६० वर्ष माथिकालाई कम्युनिस्टले गोली हान्छ भन्थे’ ओलीले भन्नुभयो, ‘हामी चुनावबाट बहुमतको स्थिर सरकार बनाउँछौं पूर्व पश्चिम रेलमार्ग चलाउँछौं । हामी कृषिलाई आधुनिकीकरण गर्छाैं, औद्योगिक विकासको आधार बनाउँछौ, जनतालाई भोकै पर्ने अवस्थाबाट मुक्त गर्छाैं ।’  

ओलीले पहिलो चरणको चुनावमा मतदान गरेका मतदाताको हाउभाउ हेर्दा वाम गठबन्धनले सवैसजो सिटमा जितिसकेको ओलीले वताउनुभयो । ‘हिजोको चुनावको हाउभाउ हेर्दा हामीले जितीसकेका छौं । अहिले परिणाम नभनौं २१ गतेपछि गनेर नै भनौंला’ ओलीले भन्नुभयो, ‘तर, अव यो देशमा वाम सरकार बन्यो बन्यो, भ्रष्टाचार अन्त्य भयो भयो । देश सुशासनको बाटोमा गयो गयो । जनताप्रति उत्तरदायी सरकार बन्यो बन्यो । तपाईंहरु दोस्रो चरणको चुनावमा ढुक्कले मतदान गर्नुस् ।’ 

ओलीले आगामी १३ वर्ष भित्र नेपालले संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य प्राप्त गर्नु पर्ने भएकाले तीब्र विकासको नीति लिएर अघि बढ्ने वताउनुभयो । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित