NP EN

ओलीको बोली : कांग्रेस दक्षिणपन्थी पार्टी हो, उसको गठबन्धन दक्षिणपन्थी गठबन्धन हो

काठमाडौं, १० मंसिर – एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको गठबन्धन लोकतान्त्रिक नभएर दक्षिणपन्थी गठबन्धन भएको बताउनु भएको छ ।

काठमाडौं क्षेत्र न.३ अन्तगर्तको बौद्धमा आयोजित चुनावीसभा तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले दुई वामपन्थी पार्टीहरुको चुनावी तालमेल र एकताको निर्णयले अधिनायकवाद स्थापना हुन्छ भन्ने कांग्रेस लोकतान्त्रिक हुन नसक्ने बताउनु भएको हो । ‘अहिले सरकारमा हुनेहरुलाई जालझेल गर्दैमा फुर्सद छैन । उहाँहरु आत्तिएर कराउनु थाल्नु भएको छ’ ओलीले भन्नुभयो,‘कांग्रेस आफै दक्षिणपन्थी पार्टी हो । त्यसैले यो गठबन्धन लोकतान्त्रिक गठबन्धन होइन, दक्षिणपन्थी गठबन्धन हो ।’

हिजोसम्म कम्युनिष्टहरुले ८० बर्षमाथिका बुबाआमालाई गोली हानेर मार्छ भन्दै प्रचार गर्ने कांग्रेसले आज अधिनायकवादको भ्रामक प्रचार गर्नु दक्षिणपन्थीको प्रमाण भएको उहाँले बताउनु भयो । ‘गैर कम्युनिष्टलाई लोकतान्त्रिक भन्ने भ्रम छ हाम्रोमा । त्यस्तो होइन । एमाले र माओवादी मिल्दा कांग्रेस आत्तिनु पर्ने थिएन । आत्तिएकोले नै  यो दक्षिणपन्थी पार्टी हो र उसको गठबन्धन दक्षिणपन्थी गठबन्धन हो’ ओलीले भन्नुभयो । एमाले र माओवादीको गठबन्धन लोकतान्त्रिक, देशभक्त, प्रगतिशिल र स्थायित्व स्थापना गर्ने गठबन्धन भएको उहाँले बताउनु भयो । 

अध्यक्ष ओलीले देशको सार्बभौमसत्ता सानो ठूलो नभएर बराबर हुने भन्दै पुर्खाले लडेर बचाएको देशलाई अडेर बचाउन सकिने भएपनि त्यति पनि कांग्रेसबाट नभएको र कहिले नहुने बताउनु भयो ।  ‘ठूला राष्ट्रहरु उपनिवेश हुँदा पनि नेपालको स्वभिमान दहे थियो । हाम्रा पुर्खाले लडेर देश बचाए । लडेर बचाएको र बनाएको देश हामीले अडे मात्रै पुग्छ, लड्नु पर्दैन’ ओलीको भनाई थियो ।  उहाँले नेपाल अव आत्मानिर्भर भन्ने बाटोमा जाने बताउँदै देशद्रोही, भ्रष्ट र देशलाई बर्बाद बनाउनेहरुका दिन गएको बताउनु भयो । उहाँले कांग्रेसमा लागेका दाजुभाई दिदिबहिनीहरुलाई लोकतन्त्र सुदृढ गर्न र बिकास गर्नका निम्ति एमालेमा आउन आग्रह पनि गर्नुभयो ।

अधिकार, अवसर, सुरक्षा, सम्मान सबैलाई बराबर दिएर समानतामूलक समाज बनाउने भन्ने बित्तिकै कांग्रेस लगायतका दक्षिणपन्थी शक्तिहरु आत्तिएको बताउनु भयो । ‘यसलाई साम्यवाद आउने भयो भनेर प्रचार गर्छन । हामी सबैलाई समान अवसर दिन चाहान्छौं । समान अवसरको पहुँच दिन चाहान्छौं । कोही आत्तिनु पर्देन’ उहाँको आव्हान थियो । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित