NP EN

ओलीद्वारा दलाई लामालाई बुद्ध जन्मस्थलबारेको गलत बयान सच्याउन आग्रह

काठमाडौं, १० मंसिर –  एमाले अध्यक्ष केपी शर्मा ओलीले धार्मिक नेता दलाई लामालाई बुद्धको जन्मस्थान बारे दिएको गलत बयान सच्याउन आग्रह गर्नुभएको छ ।

काठमाडौं क्षेत्र  न. ३ मा बौद्धमा आयोजित चुनावीसभा तथा पार्टी प्रवेश कार्यक्रममा आइतबार बोल्दै उहाँले बुद्ध नेपालमा जन्मेका हुन भन्ने ऐतिहासिक तथ्य हुँदाहुँदै त्यसलाई बंग्याएर भारतमा जन्मेका हुन भन्ने ‘दुराशययुक्त’ र ‘गैरजिम्मेवार’ अभिव्यक्ति नदिन चेतावनी दिनुभएको हो ।

‘बुद्ध नेपालमा जन्मिएका हुन, जन्मथलो नेपाल हो भन्ने २६६१ बर्ष अघि नै  लेखिएको हो’ ओलीले भन्नुभयो,‘दलाई लामाले बुद्ध भारतीय हुन, भारतमा जन्मेका हुन भन्दै नेपालीहरुको राष्ट्रिय संवेदनशिलतामाथि खेल्नु भएको छ । म उहाँलाई उक्त गल्ती तत्काल सच्याउन आग्रह गर्छु । गल्ती सच्याउनु भएन भने उहाँलाई पश्चताप हुन्छ ।’

पृथकताबादी नेता लामाले केही दिन पहिले गौतम बुद्ध नेपाली, चिनियाँ र तिव्वती नभई भारतीय भएको बताउनु भएको थियो । उहाँले बुद्ध अखण्ड भारतका महान व्यक्ति भएको  बताउनु भएको थियो । लामाको भ्रमपूर्ण यो भनाईको तत्कालै बिरोध भएको थियो । कहिले कसैको उपनिवेश नभएका नेपालीहरु राष्ट्रियताप्रति संवेदनशिल भएको दोहोर्याउँदै नेपाली राष्ट्रियताबिरुद्ध अन्तराष्ट्रिय षड्यन्त्र भइरहेको र त्यसैक्रममा लामाको कथन आएको हुन सक्ने उहाँको आशंका थियो ।

‘आफूलाई बुद्धका अनुयायी भन्ने तर बुद्ध कहाँ जन्मेका हुन भन्ने थाहा नपाउने ? त्यतिबेला भारतबर्ष भनेर कुनै देश बिशेष होइन, भूगोल बिशेषलाई भनिन्थ्यो’ ओलीले भन्नुभयो,‘त्यतिबेला पनि नेपाल भने एउटा देश नै थियो । उत्तराखण्डे नेपाल देशे भनेर लेखिएकै थियो ।’

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित