NP EN

महेन्द्रनगरबाट ओली उद्घोष : वाम गठबन्धनको दुई तिहाई सुनिश्चित

काठमाडौं, ८ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा दुई तिहाईको वाम सरकार बन्ने सुनिश्चित भएको भन्दै त्यसपछि मुलुक समृद्धि र बिकासमा मात्र केन्द्रित हुने बताउनु भएको छ ।

सुदुरपश्चिम कंचनपुर जिल्लाको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई संवोधन गर्दै शुक्रबार उहाँले वाम गठवन्धनले शक्तिशाली सरकार बनाउने र त्यसपछि नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्ने बताउनु भएको हो । उहाँले कांग्रेस सरकारको पालामा भारतले लगाएको नाकाबन्दी आफ्नो सरकारले खोलेको र राष्ट्रिय हितका पक्षमा भारतसँग स्वभिमानका साथ व्यवहार गरेको बताउनु भयो । 

उहाँले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले लगाएको नाकाबन्दीबाट हिन्दुहरुले पुजा गर्ने गाईलाई दानपानी खुवाउन समेत नसक्ने अवस्था उत्पन्न भएको बताउनु भयो । हिन्दु राष्ट्रवादको राजनीति गर्न भाजपाप्रति संकेत गर्दै उहाँले नाकाबन्दी कसका निम्ति थियो भन्दै प्रश्न गर्नुभएको हो । 
अध्यक्ष ओली चुनावी सभालाई संवोधन गर्नेक्रममा शुक्रबार डडेलधुराबाट कंचनपुर पुग्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा अध्यक्ष ओलीलाई भब्य स्वागत गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका कांग्रेसका नेताहरुले वाम गठबन्धनले अधिनायकवाद आउने भन्दै गरेको भ्रामक प्रचारमा नपर्न आग्रह गर्दै एमालेलाई कसैले लोकतन्त्र र लोकतान्त्रिक आचरण सिकाउन आवश्यक नभएको बताउनु भयो । 

‘हामीले २०४६ सालमा प्रजातन्त्रका लागि आन्दोलन गरिरहँदा लण्डनका सडक पाउरोटी खाँदै गरेकाहरुले हामीलाई लोकतन्त्र सिकाउनु पर्दैन’ उहाँले भन्नुभयो ।
वाम सरकारले बिदेशमा श्रम गरिरहेका ४० लाख युवालाई देशमै रोजगारी सृजना गरी फिर्ता ल्याइने पनि बताउनु भयो । आफ्नो सरकारले युवाहरुलाई स्वरोजगार बनाउनका निम्ति शैक्षिक प्रमाणपत्र राखेर ऋण उपलब्ध गराउँदै आएकोमा त्यसलाई निरन्तरता दिइने ओलीले बताउनु भयो ।

‘युवाहरुलाई शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने शुरु गरेका थियौं, अहिले रोकिएको छ । हाम्रो सरकार आएपछि फेरी निरन्तरता दिन्छौं’ उहाँले भन्नुभयो,‘अव युवाहरु रोजगारीका लागि बिदेशिने अवस्था समाप्त गर्नेछौं ।’ उहाँले कंचनरपुर लगायत प्रदेश न. ७ का सबै जिल्लामा वाम गठवन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो । कंचनपुर क्षेत्र न.१ मा बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहनु भएकी बिना मगर आफैं लडाकु योद्धा र राजनीतिक कर्मी रहेको भन्दै उहाँ लगायत सबैले मुलुकका निम्ति र सुदुरपश्चिमको बिकासका लागि जित्नु पर्ने बताउनु भयो ।  

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित