NP EN

दैलेखी मतदातालाई ओलीको आग्रह– देश निर्माणमा सहयोग गर्नुस्

दैलेख, ७ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबीच पार्टी एकता हुन्न भनेर चिन्तित नहुन दुवै पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभएको छ । दैलेखमा आयोजित वाम गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै ओलीले वाम गठबन्धनलाई भोट दिए वाम पार्टीले समृद्ध नेपाल दिने वताउनुभयो । 

‘पार्टी एक हुन्न कि भन्ने हिचकिचाहट अव तपाईंहरु नराख्नुस्’ ओलीको भनाई थियो, ‘अव चुनावपछि एउटै पार्टी हुन्छ भन्ने मनोविज्ञानका साथ अघि बढ्नुस् ।’ वाम गठबन्धनलाई भोट दिए आफूहरुले समृद्ध नेपाल दिने ओलीले वताउनुभयो ।  ‘यो ठाउँले आफ्नो भित्र धेरै ठूला ठूला खानीहरु गर्भमा बोकेर बसेको छ’ ओलीको भनाई थियो, ‘हामी त्यसको उत्खनन् गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न चाहन्छौं । तपाईंहरु हामीलाई भोट दिनुस् हामी तपाईंहरुलाई समृद्ध नेपाल दिन्छौं ।’ 

सभालाई सम्बोधन गर्दै ओलीले सिंजा सभ्यता र त्यहाँको पेट्रोल खानीलाई विकासमा उपयोग गर्नेवारे गठबन्धनको धारणा राख्नुभयो । ‘सिंजा सम्यताको ऐतिहासिकता हामी बिर्सन सक्दैनौं, यहाँको विकासमा त्यही सभ्यताको आफ्नोपन लिएर हामी आधुनिक विकास गर्छाैं’ ओलीको भनाई थियो, ‘दैलेखको पेट्रोल खानीलाई समृद्धिका लागि प्रयोग गर्छाैंं ।’ 

ओलीले सुर्खेत, दैलेख, जुम्लाको सडकका लागि आफू नेतृत्वको सरकारले बजेट छुट्याएको वताउँदै वाम गठबन्धनको सरकार बनेपछि यसलाई तीब्र गतिमा सम्पन्न गरिने वताउनुभयो । ‘सुर्खेत दैलेख हुँदै जुम्ला जाने बाटो निर्माण, यहाँका खानी उत्खनन् गर्ने योजना मैले प्रधानमन्त्री हुँदा थालनी गरेको थिएँ’ ओलीले भन्नुभयो, ‘अब बाम गठबन्धनको सरकार आएपछि हामी यस कुरालाई द्रूत गतिले अगाडि बढाउँछौं ।’   

कृषिलाई आधुनिकीकरण गर्ने, विश्वकै अग्लो सिंजा  उपत्यकामा फल्ने महंगो मार्सी धानलाई विश्वसामु पुर्याउनेगरी उत्पादन बृद्धि गर्ने योजना रहेको ओलीले वताउनुभयो । 

ओलीले आफूलै हरेक घरपरिवारलाई एउटा एउटा पत्र लेखेर पठाएको वताउनु भयो ।   ‘मैले तपाईंहरुको नाममा पत्र लेखेको छु, पाउनु भयोहोला’ ओलीको भनाई थियो, ‘देश समृद्ध बनाउने काम म एक्लैबाट हँुदैन । तपाईको हरेक एक भोटले त्यसको जग निर्माण गर्नुपर्छ । त्यसैले पत्र पढेर भोट हाल्नुहोला ।’ ओलीले यसो भन्दा दैलेख बासीले सिटी फुक्दै ताली बजाएर ओलीको स्वागत गरेका थिए । 

ओलीले आजै पश्चिम नेपालका विभिन्न सातवटा सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित