NP EN

हिंसावादीलाई संरक्षण नगर्न कांग्रेसलाई ओलीको चेतावनी

दाङ, ७ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसाको बाटो नसमात्न कांग्रेस नेतृत्वलाई आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले हिंसाको बाटो समातिरहेको विप्लव माओवादीका गतिविधिलाई प्रश्रय दिनेगरी कांग्रेस लागिपरेको भन्दै हिंसाको बाटो नसमात्न आग्रह गर्नुभयो ।

दोलखामा विप्लव माओवादी र कांग्रेसको संयुक्त बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय गरेको भन्दै ओलीले कांग्रेस नेतृत्वलाई प्रश्न गर्नुभयो– ‘आफ्नो इतिहास समाप्त पार्ने गरी कांग्रेस अगाडि बढ्नु उसका लागि नै घाटा हुन्छ । हिजो दोलखामा कांग्रेस र विप्लव समुहको संयुक्त बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय भएको कुरा समाचारमा आएको छ । यसले मलाई चिन्तित तुल्याएको छ । यसो गर्दा कांग्रेसको भविष्य अन्धकारमा पर्छ ।’ 

प्रदेश प्रहरी प्रमुखलाई किन हटाएको ? 
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले पाँच नम्वर प्रदेश प्रमुख मिङमार लामालाई हटाउनुको कारणको खोजी गर्न जिल्लाबासीलाई आग्रह गर्नुभयो । ‘हतियारसहित समातिएका मान्छेलाई मुद्दा नचलाई छाड्न भनेर निर्देशन दिएर सरकारले कस्तो परिपाटीको थालनी गर्न खोजेको हो ’ ओलीको प्रश्न थियो, ‘प्रहरी प्रमुखले हतियारसहित समातिएको मान्छेलाई छाड्न मिल्छ ? आफ्नो निर्देशन नमानेको झोकमा सम्मानित अधिकारीलाई हटाउन मिल्छ ?’ कानुनी राजको गफ गर्ने कांग्रेसको नेतृत्वमा सरकार चलिरहँदा कानुन मिचेर प्रहरी प्रमुखलाई हटाउने निर्णय गरिनुले कांग्रेसको नियत कानुनी राजको विपरित रहेको प्रमाणित भएको ओलीको भनाई थियो ।  

स्थायित्वका लागि बाम गठबन्धन 
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले मुलुकको स्थायित्वका लागि बाम गठबन्धन कायम गरिएको बताउनुभयो । हरेक ६÷६ महिनामा सरकार फरिने नियतिको अन्त्य गर्न गठबन्धन कायम गरिएको भन्दै अध्यक्ष ओलीले निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने बताउनुभयो । बाम सरकारले जजनजीवीकाका सवाललाई प्राथमिकतामा राख्ने, भ्रष्टाचारको अन्त्य गर्ने, गरिवी न्यूनीकरण गर्ने लगायतका योजना सुनाउनु भएको थियो । निर्वाचन जित्नका लागि मात्र गठबन्धन नबनाएको वताउँदै ओलीले मुलुकलाई समाजवादको दिशामा हिडाउन गठबन्धन कायम भएको बताउनुभयो । 

पहिले सरकार कि पार्टी एकता भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टी एकताका आधारहरु तयार भइसकेका छन् । औपचारिक घोषणा हुन मात्रै बाँकी छ । कतै पार्टी एकता हुँदैन कि भनेर नतर्सिनुहोस् । निर्वाचनपछि पहिले सरकार अनि पार्टी एकता हुन्छ ।’

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित