NP EN

बुटवलमा ओली : राष्ट्रिय एकताका लागि तपाईहरुको भूमिकालाई सलाम गर्न चाहान्छु

काठमाडौं, ६ मंसिर – एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकताको पक्षमा प्रदेश ५ का जनताले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन वाम गठवन्धनका उम्मेद्वारलाई बिजयी गराउने बिश्वास व्यक्त गर्नुभएको छ ।
चुनावी सभालाई संवोधन गर्ने क्रममा बुटवल पुग्नुभएका ओलीले आफ्नो प्रदेशमा पहाड र मधेशलाई अलग गर्न गरेको षड्यन्त्रलाई जनताले  असफल पारेको स्मरण गर्दै त्यो मत नै देश निर्माणको मत रहेको बताउनु भएको हो । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेद्वार रहेको चितवनको सभालाई संवोधन गर्नु भएका ओली बुधबार पश्चिम लाग्नुभएको हो । उहाँले  बुटवल जानेक्रममा नवलपुर चोरमारामा आयोजित चुनावी कोणसभालाई संवोधन गर्नु भएको थियो । यसपछि उहाँले दाङमा आयोजित सभालाई संवोधन गर्दै हुनुहुन्छ । 

अध्यक्ष ओलीले बुटवल पुग्दा उहाँलाई भब्य स्वागत गरिएको थियो । चोरमारा र बुटवलमा आयोजित सभालाई संवोधन गर्दै उहाँले स्थिर र सृदृढ सरकारका लागि वाम गठवन्धनका उम्मेद्वार जिताउन आग्रह गर्नुभयो । उहाँले कसैका गलत प्रचार र भ्रममा नपर्न पनि आग्रह गर्नुभयो ।  निर्वाचनपछि पार्टी एकता गर्ने तय भइसकेको भन्दै अव देशमा वाम शक्तिहरुले स्थिरता र बिकास दिने बताउनुभयो ।

बुटबलमा आयोजित चुनावी सभालाई संवोधन गर्दै उहाँले राष्ट्रिय एकता, अखण्डता, स्वभिमान र साप्रदायिक सद्भावका लागि एमाले नेतृत्वको वाम गठवन्धनको बिकल्प नभएको बताउनु भयो । बुटवलका जनताको देश र आफ्नो भूगोलप्रतिको मायाँका लागि आफ्नो उच्च सम्मान रहेको भन्दै विगतमा पनि प्रदेश न. ५ लाई बिभाजित गर्न भएका प्रयासलाई असफल पारेको स्मरण गर्नभयो । ‘तपाई बुटवलका जनतालाई म सलाम भन्न चाहान्छु । तपाईहरु राष्ट्र निर्माणको यो महान अभियान र महायज्ञमा संकल्पकासाथ अघि बढ्नु भएको छ । यो बिशाल सहभागिता र संकल्पले तपाईहरुको राष्ट्रिय एकताको चाहनालाई फेरी प्रमाणित गर्छ’ ओलीले भन्नुभयो ।  

उहाँले अवको निर्वाचनले संसद र सरकार बनाउने कामको अव टुंगो लाग्ने भन्दै राष्ट्रियतालाई रक्षा र सम्बद्र्धन , स्वाधिनताको रक्षा र प्रयोग गर्नेका निम्ति वाम सरकार बन्ने बताउनु भयो । ‘अव हामी राष्ट्रिय अखण्डतालाई तलमाथि पर्न दिंदैनौं,  तपाई बुटवल, रुपन्देहीका  नागरिकले पहाड र तराई छुट्याउने षड्यन्त्रलाई असफल पार्नु भएको हो । म यस्तो संवेदनशिलताका लागि सलाम भन्न चाहान्छु ।’  उहाँले दुबै चरणका चुनावपछि पार्टी एकता गर्ने तय भइसकेको भन्दै लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकताको सवालमा वाम गठवन्धनको सरकारले नमुना कामहरु गर्ने बताउनु भयो । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित