NP EN

चितवनबाट ओलीको घोषणा : अव कम्युनिष्ट सरकार आयो, लोकतन्त्र अझ सुदृढ हुन्छ

काठमाडौं, ५ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कम्युनिष्टहरुको शक्तिशाली सरकार निर्माण हुने घोषणा गर्नुभएको छ । उहाँले प्रकाशप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो मन्तब्य सुरु गर्नुभएको थियो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेद्वार रहेको चितवनमा आयोजित चुनावीसभालाई संवोधन गर्दै उहाँले निर्वाचनपछि मुलुकमा कम्युनिष्ट सरकार र शासन दुबै स्थापित हुने बताउनु भएको हो । ‘यो देशमा अव कम्युनिष्ट सरकार बन्यो बन्यो, कम्युनिष्ट शासन आयो आयो’ उहाँले भन्नुभयो,‘यसबाट कसैलाई नतर्सिन म  सुझाव दिन चाहान्छु । कोही आत्तिन पर्दैन, नआत्तिन आग्रह गर्छु । तपाईलाई चाहिएको लोकतन्त्र हो, हामी लोकतन्त्रको रक्षा गर्छौ,  यसलाई सुदृढ गर्छौ  । त्यसपछि किन चिन्ता गर्नु ?’ उहाँले भन्नुभयो । 

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरुले कम्युनिष्ट सरकार आउने भयो, कम्युनिष्ट शासन आउने भयो भन्दै गलत प्रचार गरेको सन्दर्भ उल्लेख गर्दै भन्नुभयो,‘अव ती साथीहरुले कम्युनिष्ट सरकारको साक्षीकिनारा बस्नुपर्नेछ । कम्युनिष्टहरुको बलियो सरकार, दुई तिहाई बहुमतको सरकारले गरेको बिकास र निर्माण साक्षी किनारामा बसेर हेर्नुपर्नेछ ।’  

नेपाली जनताले एमाले र वामशक्तिमाथि आशा र भरोसा गरेको र त्यसको प्रमाण वाम तालमेलप्रतिको आम जनताको बिश्वास रहेको भन्दै निर्वाचनपछि वाम तालमेल एकतामा रुपान्तरण हुने बताउनु भयो ।‘यस पटक समय नभएकाले एकता गर्न भ्याइएन, तालमेलबाट अघि बढ्नु पर्यो । निर्वाचनपछि पार्टी एकता हुन्छ । म भन्न चाहान्छु अव चुनावपछि हामी एउटै पार्टी हौं’ ओलीले भन्नुभयो, ‘ईतिहासको पछि चिन्ता गएर बस्ने होइन, नयाँ नेपाल लिएर अघि बढ्ने, अग्रगामी सोच राख्ने कि पश्चगामी बाटो लिएर अघि बढ्ने भन्ने हो  ।’

उहाँले ५० बर्षअघि देखि अर्थात २०२४ सालदेखि कंग्रेसको झण्डा बोकेर आउनु भएका पुराना कांग्रेसहरु,ईतिहास भएका कांग्रेसहरु पार्टी परित्याँग गरेर एमाले प्रवेश गरेको भन्दै एमालेमा आएर उहाँहरुले उपयुक्त निर्णय लिएको बताउनु भयो । लोकतन्त्र आफूहरुको संघर्षको परिणाम भएको उहाँले बताउँदै भन्नुभयो,‘लोकतन्त्र हाम्रो सघर्षको परिणती हो । कसै कसैले लोकतन्त्र अफ्यारोमा पर्छ भन्दै गलत प्रचार गर्दैछन्, मानै उनीहरुले  किस्तीमा दिएका हुन । २०४६ सालमा लोकतन्त्रका लागि सघर्ष गर्दा कांग्रेसका नेता कहाँ थिए ?’  

२००७ सालदेखि यता नेपालमा कुनै पनि सरकारले पूर्ण कार्यकाल काम गर्न नपाएको भन्दै तर अव ती सबै ईतिहास भएको र अव नेपालले स्थायी सरकार पाउने उहाँले बताउनु भयो । ‘अव शान्ति, स्थायित्व चाहिएको छ । २००७ साल यता कुनै पनि सरकार पाँच बर्ष सरकार टिक्न पाएको छैन । अव वामहरु एक ठाउँ भएपछि यो समाप्त भयो, ईतिहास भयो । हामी स्थीर सरकार दिन्छौं ।’ उहाँले भन्नुभयो । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित