NP EN

ओलीसँग युरोपेली निर्वाचन पर्यवेक्षण मिसनका चार जिज्ञाशा

काठमाडौं, २० कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओलीले युरोपेली संघको निर्वाचन पर्यबेक्षण मिसनलाई आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन पर्यबेक्षण गर्न आग्रह गर्नुभएको छ । ओलीको निर्वाचन क्षेत्र झापा ५ हो । 

निर्वाचनलाई स्वतन्त्र, निस्पक्ष र धाँधलीरहित बनाउन आफ्नो पार्टीको भूमिका सकारात्मक भूमिका रहेको र रहने भन्दै त्यसको प्रत्यक्ष अवलोकन गर्नका लागि आग्रह गर्नुभएको हो । अध्यक्ष ओलीलाई भेट्न पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा सोमबार बिहान युरापेली संघकी सांसद जेलजाना जोब्को नेतृत्वको मिसन प्रतिनिधिमण्डल पुगेको थियो । जोब्को नेतृत्वको पर्यबेक्षण  समुहमा १ सय पर्यबेक्षक रहने बताइएको छ ।

भेटवार्तामा सहभागि एमाले पोलिटब्यूरो सदस्य बिष्णु रिमालका अनुसार, टोलीले नेपालको अगामी निर्वाचनको पर्यबेक्षण गर्न चाहेको भन्दै त्यसमा पहुँच दिन आग्रह गरेको थियो । साथै एमाले पार्टीबाट समेत त्यसमा सहयोगको आग्रह गरेको थियो । ‘तपाईहरुलाई निर्वाचन पर्यबेक्षणका लागि हामी स्वागत गर्छौ । हाम्रो पार्टीको तर्फबाट तपाईहरु पूर्ण सहयोग हुनेछ’ ओलीको भनाई उद्धृत गर्दै रिमालले भन्नुभयो,‘नो थिङ टु हाइड’ ।

निर्वाचन निस्पक्ष गराउनेवारेमा निर्वाचन आयोगको भूमिका र प्रतिबद्धताका बारेमा मिसनले राखेको जिज्ञाशामा अध्यक्ष ओलीले ‘एमाले कसैलाई दोष’ लगाउने पक्षमा नरहेको भन्दै आयोगले गर्नुपर्ने काम गरिरहेको बताउनुभयो । ‘मतपत्रको जो मुद्दा उठाइयो, त्यो वास्वतमा मुद्दा नै थिएन । निर्वाचन नगर्नका निम्ति गरिएको प्रयासमात्र थियो । निर्वाचन सार्नका निम्ति प्रयास भएका थिए, ती सफल भएनन, हुँदैनन्’ उहाँले भन्नुभएको थियो ।

त्यसपछि युरोपेली पर्यबेक्षण मिसनले स्थानीय तहको निर्वाचनवारे जिज्ञाशा राखेको थियो । त्यसको जवाफमा ओलीले सत्तामा बसेका शक्तिहरुले केही केही ठाउँमा धाँधली र बेइमानी गरेको भन्दै तर एमालेको तर्फबाट निर्वाचनलाई निस्पक्ष सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेलिएको बताउनु भयो ।

मिसनको चौथो जिज्ञाशा वाम तालमेलबारे थियो । मिसनका तर्फबाट वाम तालमेल किन र के का लागि गरिएको भन्ने प्रश्न राखिएको थियो । जबाफमा ओलीले नेपाललाई स्थायी सरकार दिन, बिकास र समृद्धितर्फ अघि बढाउनका लागि वाम तालमेल भएको बताउनु भयो । ‘यो गठबन्धन निर्वाचनसम्मका लागि हो । त्यसपछि पार्टी एकिकरणको प्रक्रिया शुरु हुन्छ’ ओलीले भन्नुभयो । नेपालको निर्वाचन पर्यबेक्षण गर्न चार दिन अघि मिसन नेपाल आएको हो । मिसनका प्रेस अधिकृत इश्वरदेव खनालका अनुसार, मिसनले मंगलबार होटल याक एण्ड यतीम पत्रकार सम्मेलन गरी निर्वाचन पर्यबेक्षणबारे जानकारी गराउनेछ । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित