NP EN

कसैलाई हराउन होइन देश जिताउन हाम्रो उम्मेदवारी

चन्द्रगढी, १६ कात्तिक– एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको उद्धेश्य कसैलाई चुनाव हराउनु नभई देशको सार्वभौमसत्तालाई जिताउनु रहेको वताउनु भएको छ । झापा–५बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्तापछि चन्द्रगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले देशको सार्वभौमिकतालाई जिताउन आग्रह गर्नुभयो । 

‘हामी कसैलाई हराउन होइन, देशको सार्वभौमसत्तालाई जिताउन उम्मेदवार भएका हौं, हामीलाई सार्वभौमसत्ताको मायाँ छ’ ओलीले भन्नुभयो, ‘म प्रधानमन्त्री भएका बेला देशमा नाकाबन्दी थियो, नाकाबन्दी खुलाएँ । भारत गएँ, नेपालको हित हुनेगरी सम्झौताहरु गरेँ, चीन गएँ, नेपालको हितमा सम्झौता गरेँ । नाकाबन्दीको युग समाप्त गरेँ ।’ आफू प्रधानमन्त्री भएका बेला अघि सारेका योजना पूरा गर्न देशमा बामपन्थी दलहरुको गठबन्धन बनेको भन्दै ओलीले देशलाई समृद्ध बनाउन गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । 

बामपन्थी गठबन्धनले अधिनायकवाद आउने भनी प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको टिप्पणीलाई ओलीले जवाफ दिनुभयो । लोकतन्त्रका लागि बामपन्थीले जीवन मरणको संघर्ष गरेका बेला विदेशका गल्लीमा भौंतारिने पक्षले बामपन्थीले जिते अधिनायकवाद आउँछ भनी असंगत प्रचार गरेको ओलीको भनाई थियो । ‘जनआन्दोलनमा हामी लोकतन्त्रका लागि लड्दैथियौं, म १४ वर्षसम्म लोकतन्त्रकै लागि यातना सहेर जेल बसेँ’ ओलीले भन्नुभयो, ‘त्यसबेला शेरबहादुरजी लण्डनको गल्लीमा हल्लेर हिंड्नु भएको थियो । लोकतन्त्र हामीले ल्याएको हो, हामी रक्षा गर्छाैं । अधिनायकवादका कसैले नपत्याउने हल्ला नचलाउनुस् ।’ लोकतान्त्रिक मुल्य मान्यतामा कांग्रेसलाई बहसमा उत्रिन ओलीले कांग्रेसलाई चुनौती दिनुभयो । 

एमाले र बाम गठबन्धनले सजिलै जित्ने भए पनि झापा लगायत केही स्थानमा अन्य पक्षलाई पनि समेटिएको ओलीले वताउनुभयो । सरकार बनाउँदा पनि मैले साना पार्टीलाई समेटेको थिएँ, अहिले पनि चुनाव जितिने हुँदा हुँदै हामीले राप्रपालाई पनि झापामा गठबन्धनमा समावेश गर्यौं’ ओलीको भनाई थियो, ‘राप्रपाले कांग्रेसका कुरा पत्याएर गल्ती गर्यो, कांग्रेसले लिखित सम्झौता गरेर धोका दियो । अव मकवानपुरमा पनि मतदानका दिन कमल थापालाई धोका दिन्छ ।’ ओलीले कांग्रेस र धोका सँगसँगै जन्मेका जुम्ल्याहा भएको वताउनुभयो । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित